घरघरमै लागूऔषध खोज्दै तुलसीपुर प्रहरी, आइतबार ब्राउन सुगरसहित दुई पक्राउ
  • काँचुली खबर

फाइल फोटो

ईलाका प्रहरी कार्यालय तुलसीपुर, दाङले लागूऔषध बिरुद्ध तुलसीपुर आसपास क्षेत्रमा बिशेष अभियान संचालन गरेको छ । खोजतलास अभियान मार्फत लागूऔषधलाई निराकरण गर्न बिषेश प्रहरी टोली परिचालित गरेको प्रहरीले बताएको छ । अभियान अन्तर्गत प्रहरीले आइतबार तुलसीपुरबाट दुई जनालाई ब्राउन सुगरसहित पक्राउ गरेको छ ।

तुलसीपुर उपमहानगरपालिका अन्तर्गत बिभिन्न स्थानहरुमा बिकृति बिसंगतिको रुपमा लागूऔषध (ब्राउनसुगर) बिक्री बितरण, ओसारपसार तथा सेवन गरी समाजमा लागूऔषधको कुलतमा युवा पिढीहरु फसेको कारणले समाजमा बिभिन्न किसिमका अपराधिक कृयाकलाप, बिसंगति बिकृति बढेको र लागूऔषध ब्राउनसुगर खरिद गर्दा समेत महङ्गो मुल्य पर्ने भएको कारण सबै युवाहरु लागूऔषधको लतमा परेपछी उम्कन समेत नसक्ने भएको कारण तुलसीपुर बजार तथा आसपासका एरियाहरुमा चोरी गर्ने समुहको बृद्धी समेत भएको हुँदा त्यसको निराकरणकालागि बिषेश प्रहरी टोली परिचालित गरेको प्रहरीले बताएको छ ।

अभियान अन्तर्गत तुलसीपुर तथा आसपासका स्थानहरुमा लागूऔषध खरिद बिक्रिबितरण, ओसारपसार तथा सेवन गर्ने ब्यक्तिहरूको खोजतलास तथा पहिचान गर्दै जाँदा आईतवार तुलसीपुरबाट प्रहरीले दुईजनालाई ब्राउन सुगरसहित पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका ५ न्युरोड बस्ने भुपलाल बिक र तुलसीपुर १८ हेमन्तपुर बस्ने २६ बर्षिय देवराज देवकोटा रहेका छन ।

तुलसीपुर ५ न्युरोड बस्ने भुपलाल बिकलाई आफ्नै घरको कोठामा फेला पारी उनको शरीर खानतलासी गर्दा उनले लगाएको निलो रंगको जिन्सको पाईन्टको दायाँ खल्तीमा प्लाष्टिकमा पोका पारी राखेको १७ वटा पुडियामा ८३० मिलीग्राम ब्राउनसुगर जस्तो देखिने पदार्थ फेला पारेको प्रहरीले जनाएको छ ।

त्यसैगरी, तुलसीपुर १८, हेमन्तपुर बस्ने २६ बर्षिय देवराज देवकोटालाई आफ्नै घर कोठामा फेला पारी शरीर खानतलासी गर्दा उनले लगाएको ज्याकेटको बायाँ खल्तीबाट साना १५ वटा पुरिया र उनको कोठामा रहेको स्टिलको दराजमा लुकाई राखेको एउटा ठुलो प्लाष्टिकको पुरियामा गरी ४ ग्राम ४४० मिलीग्राम ब्राउनसुगर फेला पारेको प्रहरीले जनाएको छ ।

ब्राउन सुगरसहित पक्राउ परेका दुबैजनाका बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

  • ९ फाल्गुन २०७८, सोमबार ११:१० प्रकाशित
  • Nabintech