नेपालगन्जका धेरैजसो कलेजहरुमा बिहानमा पढाई हुने गर्दछ । विद्यार्थीहरु अँधेरैमा कलेज जानुपर्ने हुन्छ । यसरी बिहान बिहान उठेर कलेज जाने विद्यार्थीहरु सुरक्षित भने छैनन । बिहानै कलेज जाँदा विद्यार्थीहरु बाटोमै कुटिने र लुटिने गरेको एउटा घटनाले पुष्टि गरेको छ ।
नेपालगन्जको आदर्श सेकेन्डेरी स्कुल कक्षा ११ मा अध्ययनरत एक विद्यार्थी बिद्यालय जाने क्रममा आइतबार बिहानै सडकमै लुटिएका छन । मोटरसाइकलमा आएका दुईजना लुटेराले उनको मोबाइल लुटेर लगेका हुन ।
उक्त स्कुलमा पढ्ने नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १२ मुक्तिपुर बस्ने १७ बर्षिय प्रशान्त थापाको ‘रियल मि सी ३’ मोबाइल लुटिएको हो ।
भे४प ५४५८ नम्बरको कालो रंगको स्प्लेन्डर मोटरसाइकलमा आएका दुईजना लुटेराले आइतबार बिहान ६ देखि ६:२० बजेको समयमा न्यूरोडको भानुभक्त चोक नजिकबाट आफुलाई रोकेर हातपात गरी मोबाइल लुटेर भागेको विद्यार्थी थापाले बताए ।
लुटेराहरुसङ्ग आफ्नो मोबाइल खोस्ने क्रममा थापा घाइते भएका छन । मोबाइल खोस्न लाग्दा मोटरसाइकलबाट आफुलाई धकेलेर सडकमा पल्टाएर उनिहरु भागेको उनले बताए । धकेलिएर सडकमा पल्टिदा उनको अनुहार र हातमा चोटपटक लागेको छ ।
उनका अभिभावकले लुटेराका विरुद्ध प्रहरीमा उजुरी गरेका छन ।
मोबाइल लुट्ने लुटेराविरुद्ध प्रहरीमा उजुरी परेको जिल्ला प्रहरी कार्यालय बाँकेका मुद्दा फाँटका सई श्याम रोकाले जानकारी दिए । तिब्र रुपमा उनिहरुको खोजिमा प्रहरी परिचालन गरिएको उनले बताए । घाइते विद्यार्थीलाई भेरी अस्पतालमा घाउ चोट केस जाँचका लागि पठाइएको सई रोकाले बताए ।
पछिल्लो समयमा नेपालगन्जमा चोरी तथा लुटपाटका घटनाहरुमा वृद्धि भएको देखिन्छ । जसमध्ये, मोटरसाइकल चोरीका घटना अत्याधिक बढेको छ । चोरी तथा लुटपाटमा अधिकाँस लागूऔषध सेवन गर्ने व्यक्तिहरू संलग्न हुने गरेको पाइएको छ ।
८ फाल्गुन २०७८, आईतवार ११:२२ प्रकाशित