भोलि बिप्लव लगायतको नेपाल बन्द, सुरक्षा व्यवस्था चुस्त बनाउन गृह मन्त्रालयको सर्कुलर
  • काँचुली खबर

एमसीसी सम्झौताविरुद्ध ५ वटा कम्युनिस्ट पार्टी र एउटा मोर्चाले भोलि नेपाल बन्दको घोषणा गरेका छन् । भोलिको प्रतिनिधि सभाको बैठकमा एमसीसी टेबल हुने सम्भावना रहेको प्रधानमन्त्रीले बताइरहँदा वाम पार्टीहरुले बन्दको घोषणा गरेका हुन् ।

मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, ऋषि कट्टेल नेतृत्वको नेकपा, आहुती नेतृत्वको वैज्ञानिक समाजवादी पार्टी र कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी केन्द्र समाजवादी तथा सीपी गजुरेल नेतृत्वको देशभक्त गणतान्त्रिक मोर्चा नेपालले बुधबार देशव्यापी बन्द आह्वान गरेका हुन् ।

मङ्गलबार अपराह्न संयुक्त जारी गरिएको विज्ञप्तिमा भनिएको छ – नेपाली जनताको एमसीसी कम्प्याक्टविरोधी सङ्घर्ष र शेरबहादुर देउवा सरकारलगायत अमेरिकी साम्राज्यवादका दलाल एवम् एमसीसी कम्प्याक्टका पिछलग्गुहरूबीचको पेचिलो सङ्घर्षको मोर्चाका क्रममा अमेरिकी साम्राज्यवादको हस्तक्षेप, दबाब एवम् धम्की र देउवा सरकारलगायत राष्ट्रघाती एवम् जनघाती दलालहरूको आत्मसमर्पणका कारण फागुन ४ गते बोलाइएको संसद् बैठकमा एमसीसी कम्प्याक्ट सदनमा टेबुल गर्ने र पारित गर्ने अन्तिम प्रपञ्च गरिराखेको र उक्त राष्ट्रघाती षड्यन्त्रविरुद्ध राष्ट्रिय मुक्ति आन्दोलन सञ्चालन गर्नु आवश्यक छ ।

सुरक्षा व्यवस्था चुस्त बनाउन गृह मन्त्रालयको सर्कुलर:

गृह मन्त्रालयले विभिन्न ६ दलले एमसीसीको विरोधमा बन्दको आह्वान गरेपछि शान्ति सुरक्षा कायम गर्न मातहतका निकायलाई सर्कुलर गरेको छ । मन्त्रालय अन्तरगतको शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखाले नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागलाई सबै जिल्लाको समग्र शान्ति सुरक्षा र सुव्यवस्थालाई चुस्त दुरुस्त बनाउन निर्देशन दिएको हो ।

‘प्रस्तुत विषयमा नेपाल कम्युनिष्ट पार्टी लगायतका ६ वटा राजनीतिक दलले आज फागुन ३ गते साँझ मसाल जुलुस प्रदर्शन गर्ने र फागुन ४ गते नेपाल बन्दको आह्वान गरेको भनी सूचना प्राप्त भएकोले सो सन्दर्भमा कानुन विपरीतका उल्लेखित गतिविधिहरू हुन नदिन सम्पूर्ण सुरक्षा संयन्त्रले उच्च सतर्कता र निगरानी बढाई जिल्लाको समग्र शान्ति सुरक्षा र सुव्यवस्थालाई चुस्त दुरुस्त बनाउनुहुन आदेशानुसार अनुरोध छ’, मन्त्रालयको सर्कुलरमा भनिएको छ ।

  • ३ फाल्गुन २०७८, मंगलवार २१:०१ प्रकाशित
  • Nabintech