प्रधानन्यायाधीश जबरा निलम्बित
  • काँचुली खबर

संसद् सचिवालयमा महाअभियोग दर्ता भएसँगै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा निलम्बित भएका छन् ।

संविधानको धारा १०१ (६) अनुसार, महाअभियोगको प्रस्ताव टुंगो नलागेसम्म कुनै कामकारबाही गर्न पाउने छैनन् ।

सत्तारुढ गठबन्धनका गगन थापा, मीनेन्द्र रिजाल, पुष्पा भुसाल, जीवनराम श्रेष्ठ, देव गुरुङ लगायत ९८ सांसदले आइतबार प्रधानन्यायाधीश जबराविरुद्ध महाअभियोग दर्ता गराएका छन् ।

सत्तारुढ पाँचदलीय गठबन्धनका सांसदहरुले आइतबार विहान ११ बजेर १० मिनेटमा संसद सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता गरेका हुन् ।

माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङ, नेपाली कांग्रेस सचेतक पुष्प भुसाल र नेकपा एकीकृत समाजवादीका प्रमुख सचेतक जीवनराम श्रेष्ठ प्रस्तावक रहेको महाअभियोग प्रस्तावमा कानुनमन्त्री दिलेन्द्रप्रसाद बडूसहित ९८ जना सांसदले हस्ताक्षर गरेका छन् ।

महाअभियोग लगाउनुका आधार र कारण भनेर २१ वटा बुँदा समावेश गरिएको छ ।

जबराको राजीनामा माग गर्दै नेपाल बार एशोसिएसनले लामो समयदेखि आन्दोलन गर्दै आएको छ । सर्वोच्च अदालतका न्यायाधीशहरुले पनि लामो समय इजलास बहिस्कार गरेका थिए । सर्वोच्च अदालतको नियमावली संशोधन गरेर गोला प्रक्रियाबाट पेशी तोक्न थालेपछि न्यायाधीशहरु बेञ्चमा फर्किएका छन् ।

तर प्रधानन्यायाधीश जबराले अझैसम्म मुद्दा हेरेका छैनन् । जबराले राजीनामा नदिएपछि बारले महाअभियोग लगाउन दलहरुको ध्यानाकर्षण समेत गराएको थियो ।

  • १ फाल्गुन २०७८, आईतवार १२:५९ प्रकाशित
  • Nabintech