माओवादी केन्द्र नेपालगन्ज कमिटीले भव्य रुपमा जनयुद्ध दिवस मनाउदै
  • काँचुली खबर

नेकपा माओवादी केन्द्र नेपालगन्ज उपमहानगरपालिका कमिटीले भोली फागुन १ गते २७औं जनयुद्ध दिवस नेपालगन्जमा भव्य रुपमा मनाउने भएको छ ।

जनयुद्ध दिवसको अवसर पारेर भोलि नेपालगन्ज उपमहानगरपालिकाको वडा नम्बर ४ मा स्थापना गरिएको नगर पार्टी कार्यालय उद्घाटन समेत गरिने कार्यक्रम रहेको नेकपा माओवादी केन्द्र नेपालगन्ज उपमहानगर अध्यक्ष रतनबहादुर शाहीले जानकारी दिए । जनयुद्धका कारणनै देशमा गणतन्त्र स्थापना भएको भन्दै शाहीले जनयुद्धको राप र तापमा स्थापना भएको गणतन्त्रलाई नै धरापमा पार्न खोज्ने प्रति होसियार हुनुपर्ने बताए ।

२०५२ साल फागुन १ गते घँगारुको लठ्ठीद्वारा जनताको अधिकार स्थापना गर्ने उद्देश्यले शुरुभएको जनयुद्धको स्मरणमा हजारौं सहिदप्रति सम्मान गर्दै भोलि आईतबार नेपालगन्जमा बिबिध कार्यक्रम राखिएको नगर सचिब प्रेम शाहले जानकारी दिए ।

२७औं जनयुद्ध दिवसको अवसरमा भोलि दिउँसो ११ बजे नगर पार्टी कार्यालय उद्घाटनसहित शुभकामना आदानप्रदान, १ बजे र्‍याली सहित त्रिभुवन चोकमा कोणसभा गरिने शाहले जानकारी दिए । त्यसैगरी, दिउँसो ३ बजे भेरी अस्पतालका बिरामीहरुलाई फलफूल वितरण गरिने र साँझ सेतु विक चोकमा दिप प्रज्वलन गरिने सचिब शाहले बताए ।

  • २९ माघ २०७८, शनिबार २१:१९ प्रकाशित
  • Nabintech