बाँकेको डुडुवा गाउँपालिकाले छात्रा प्रोत्साहन अन्तर्गत गतवर्ष एसईई पास गरेका छात्राहरुलाई साइकल वितरण गरेको छ । गाउँदेखि बजारसम्म गएर उच्च शिक्षा हासिल गर्न सहजता तथा उत्प्रेरणाकालागि गाउँपालिका अन्तर्गतका विद्यालयहरुका छात्रालाई साइकिल वितरण गरिएको हो । गतवर्ष एसईई पास गरेका गाउँपालिकाका ५ वटा माध्यमिक विद्यालयका १ सय २२ जना छात्रालाई साइकल वितरण गरिएको हो ।
शनिबार एक कार्यक्रमबीच साइकिल वितरण गर्दै गाउँपालिकाका अध्यक्ष नरेन्द्रकुमार चौधरीले किशोरीहरुलाई उच्च शिक्षा हासिल गर्न प्रोत्साहन गरेको भन्दै आगामी दिनमा उच्च शिक्षा हासिल गर्न बजार आउजाउ गर्न मद्दत पुग्ने बताए ।
अध्यक्ष चौधरीले विशेष गरी मधेशी समुदायका किशोरीहरु साधारण कक्षा पढेपछि विभिन्न कारणले उच्च शिक्षा हासिल गर्न नसकेको समस्यालाई यो कार्यक्रमले अन्त्य गर्ने बताए । उनले उच्च शिक्षा हासिल गर्न डुडुवामै क्याम्पसको स्थापनाका लागि पहल शुरु भएको भन्दै त्यसले पनि किशोरीले शिक्षा हासिल गर्ने विश्वास व्यक्त गरे ।
गाउँपालिका अन्तर्गतका ५ वटा माध्यमिक विद्यालयका १ सय २२ जना छात्राले गतवर्ष एसईई पास गरेको शिक्षा शाखाले जनाएको छ । गाउँपालिका भित्र गतवर्षसम्म ५ वटा मावि रहेकोमा यस वर्ष शाहपुर्वा मावि कम्दी र जनता मावि होलियाको स्तरबृद्धि गरी मावि बनाइएको शिक्षा शाखाले जनाएको छ ।
२९ माघ २०७८, शनिबार २०:५५ प्रकाशित