जानकीमा १५ शय्याको अस्पताल शिलान्यास
  • काँचुली खबर

बाँकेको जानकी गाउँपालिकामा शुक्रवार एक कार्यक्रमबीच १५ शय्याको अस्पताल शिलान्यास गरिएको छ । लुम्बिनी प्रदेश सांसद बाबुराम गौतम र जानकी गाउँपालिकाका कार्यबाहक अध्यक्ष भुमिसरा धितालले संयुक्त रुपमा उक्त अस्पतालको शिलान्यास गरेका हुन । जानकी गाउँपालिका वडा नं. ४ स्थित हालको गाउँपालिका रहेको स्थानमा सो भवन निर्माण गर्न लागिएको हो ।

हरेक नागरिकलाई सुलभ र नि:शुल्क स्वास्थ्य सेवा दिनु स्थानीय र संघीय सरकारको कर्तव्य भएकोले यस अस्पताल निर्माण पश्चात यस क्षेत्रका नागरिकले गुणस्तरीय स्वास्थ्य सेवा पाउने आफुले बिश्वास लिएको सांसद गौतमले बताए ।

जानकी गाउँपालिकामा अधिकांश मधेसी र सुस्लिम समुदायका नागरिकको बसोबास रहेको र उनिहरुको पायक पर्ने स्थानमा स्वास्थ्य सेवा लिन पाउने अधिकारको सुनिश्चताका लागि यो अस्पताल निर्माण गर्न लागिएको कार्यबाहक अध्यक्ष धितालले बताइन् । आफुले निर्वाचनका समयमा बाचा गरेका धेरै जसो विकास निर्माणका काम र पूर्वाधारका कार्यहरु सम्पन्न गरिसकेको र बाँकी कार्यहरू यसै आर्थिक वर्षमा पुरा गर्ने उनले जानकारी दिइन ।

उक्त अस्पताल निर्माणको जिम्मा भरतपुर चितवनको हिम सगरमाथा/अनक जे.भि.ले पाएको प्रमुख प्रशासकीय अधिकृत बसबहादुर रानाले जानकारी दिए । अस्पताल निर्माणकालागि पालिकाले १७ करोड ५४ लाखमा (करसहित) टेण्डर निकालेको र सो निर्माण कम्पनीले करसहित ११ करोड ४४ लाख १ हजार ३२ रुपैयाँ बाह्र पैसामा टेण्डर पाएको रानाले बताए ।

दुई बर्षमा १५ शय्याको आधारभूत अस्पताल निर्माण कार्य सम्पन्न गर्ने गरी माघ २३ गते निर्माण कम्पनीका प्रतिनिधिसङ्ग सम्झौता गरिएको रानाले जानकारी दिए ।

कार्यक्रममा निर्माण व्यवसायी दिपक खड्का, ईन्जिनियर सुनिल पोख्रेल, स्वास्थ्य शाखा प्रमुख दलबहादुर राना, एमाले बाँके उपाध्यक्ष डिल्ली बिसी, एमाले लुम्बिनी प्रदेश सचिवालय सदस्य पदम धिताल लगायतले सम्बोधन गरेका थिए ।

  • २८ माघ २०७८, शुक्रबार २०:४८ प्रकाशित
  • Nabintech