सशस्त्र प्रहरी बल नेपाल, नम्बर ३० गण हेडक्बाटर बागेश्वरी बाँकेले अवैध चाँदी बरामद गरेको छ । नेपालगञ्ज-१६ चौलिका चोकबाट लुकाईछिपाई ल्याउँदै गरेको पौने ९ लाख मूल्य बराबरको ८ किलो बढी चाँदी बरामद गरेको हो ।
भारतबाट नेपालतर्फ आउँदै गरेको एक भारतीय मोटरसाइकललाई शंका लागेर चेकजाँच गर्दा ५ किलो ७८५ ग्राम (ढिक्का ४ पिस) र २ किलो ५११ ग्राम (बनेको गरगहना पाउजु, औंठी) गरी जम्मा ८ किलो २९६ ग्राम चाँदी सहित मोटरसाइकल बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गण हेडक्बाटर बागेश्वरी बाँकेबाट सशस्त्र प्रहरी सहायक निरीक्षक तिर्थ भाट र गोविन्द विहारी शुक्लाको कमाण्डमा खटिएको टोलीले मंगलबार बिहान ११ बजेतिर बरामद गरेको हो । बरामद गरेको मोटरसाइकल र चाँदी आवश्यक कारवाहीका लागि नेपालगञ्ज भन्सार कार्यालय बुझाइएको सशस्त्रले जनाएको छ ।
उक्त चाँदीको मूल्य ८ लाख ६७ हजार ७ सय १५ र मोटरसाइकलको मूल्य ८० हजार गरी जम्मा भन्सार दाखिला मूल्य ९ लाख ४७ हजार ७ सय १५ कायम भएको सशस्त्र प्रहरीले जनाएको छ ।
भर्खरै मात्र सशस्त्र प्रहरी बल नम्बर ३० गणको कमान्ड सम्हाले यता एसपी जनकराज बस्नेतले सिमा नाकामा निकै कडाइ गर्दै आएका छन् । एसपी बस्नेतले आफ्ना मातहतका सबै युनिटलाई तस्करीविरुद्ध कडा रुपमा प्रस्तुत हुन निर्देशन दिएयता सशस्त्र प्रहरीले दैनिकजसो धमाधम अवैध सामाग्री बरामद गर्दै आएको छ ।
२५ माघ २०७८, मंगलवार १९:०८ प्रकाशित