बाँकेमा प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित चार युवा पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा नेपालगञ्ज उपमहागनरपालिका वडा नं. ७ गगनगंजका २८ वर्षीय आदित्य श्रेष्ठ, सोही ठाउँका २६ वर्षीय अंकित श्रेष्ठ र सुर्खेत जिल्लाको वीरेन्द्रनगर नगरपालिका वडा नं. ६ का ३८ वर्षीय गणेश भण्डारी छन् ।
आदित्य श्रेष्ठको घरमा प्रतिबन्धित लागुऔषधको अवैध कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा वडा प्रहरी कार्यालय नेपालगञ्ज र लागुऔषध नियन्त्रण ब्युरो नेपालगञ्जबाट खटिएको प्रहरी टोलीले बिहीबार दिउँसो उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
त्यसक्रममा आदित्यको साथबाट ३० ग्राम ब्राउन सुगर, तौल गर्ने तराजु र नगद दस हजार तथा अंकित र भण्डारीको साथबाट एक लाख ३४ हजार नगद बरामद भएको प्रहरीले जनाएको छ ।
त्यस्तै, नेपालगञ्ज गगनगंजका २४ वर्षीय शुभम मानन्धर पनि बिहीबार दिउँसो ब्राउन सुगर सहित पक्राउ परेका छन् ।
मानन्धरले लागुऔषध ब्राउन सुगरको अवैध कारोबार गरिरहेको भन्ने गोप्य सूचनाका आधारमा पुगेको प्रहरीले कोठा खानतलासी गर्ने क्रममा नौ वडा पुडियामा राखेको अवस्थामा ६ ग्राम ब्राउन सुगर र नगद १८ हजार ३ सय बरामद गरेको हो ।
पक्राउ परेका चारै जनालाई कारबाहीकालागि आवश्यक अनुसन्धान अघि बढाईएको प्रहरीले जनाएको छ ।
२० माघ २०७८, बिहीबार १९:२४ प्रकाशित