१६ चैत्र २०८०, शुक्रबार
स्विडेनलाई हराउँदै इङल्याण्ड २८ वर्षपछि विश्वकप फुटबलको सेमिफाइनलमा
  • काँचुली खबर

सन् १९९० पछि पहिलो पटक इङल्याण्ड विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ। रूसमा जारी २१ औं संस्करणको विश्वकप फुटबल अन्तर्गत क्वार्टरफाइनलको तेस्रो खेलमा स्विडेनलाई २-० ले पराजित गर्दै इङल्याण्ड २८ वर्षपछि अन्तिम चारमा स्थान बनाउन सफल भएको हो।

१९९० को विश्वकपमा चौंथो भएको इङल्याण्डले त्यसपछिका विश्वकपमा क्वार्टरफाइनल पार गर्न सकेको थिएन। त्यसअघि इङल्याण्डले १९६६ मा विश्वकपको उपाधि जितेको थियो। इङल्याण्डको जितमा ह्यारी मगुइरे र डेले अलीले एक-एक गोल गरे।

समारा एरिना रंगशालामा शनिबार सम्पन्न खेलमा ३० औं मिनेटमा ह्यारी मगुइरेले गोल गर्दै इङल्याण्डलाई अग्रता दिलाएका थिए। एस्ली योङले प्रहार गरेको कर्नर बलमा मगुइरेले हेड गोल गरेका हुन्। ४४ औं मिनेटमा रहिम स्टिर्लिङ वान भर्सेस वानमा गोल गर्न चुकेपछि इङल्याण्डले अग्रता दोब्बर बनाउने मौका खेर फालेको थियो। पहिलो हाफमा १ गोलले पछि परेको स्विडेनले दोस्रो हाफको सुरुमै अग्रता बराबर गर्ने अवसर खेर फाल्यो। स्विडेनका मार्कुस बेर्गले गरेको सुन्दर हेडर इङल्याण्डका गोलकिपर जोर्डन पिकफर्डले मुस्किलले बचाएका थिए।

५९ औं मिनेटमा जेसे लिंगाडको पासमा डेले अलीले उत्कृष्ट हेड गोल गर्दा इङल्याण्ड अग्रता दोब्बर बनाउन सफल भएको थियो। ७१ औं मिनेटमा मार्कुस बेर्गले डिबक्स भित्रबाट प्रहार गरेको बल इङल्याण्डका गोलकिपरले पुन एकपटक राम्रो बचावट गरेपछि स्विडेन पुन अभागी सावित भयो। खेलअवधिभर स्विडेनलाई दबाबमा राखेपनि इङल्याण्डले अन्य गोल गर्न सकेन। यता स्विडेनले पनि पाएका केहि अवसर सदुपयोग गर्न सकेन।

क्वार्टरफाइनलसम्मको यात्रा पक्का गर्दा स्विडेनले इङ्ल्यान्डको तुलनामा कठिन यात्रा तय गरेको थियो। समूह ‘एफ’ मा रहेको स्विडेनले पहिलो खेलमा दक्षिण कोरियालाई १-० ले पराजित गरेको थियो। दोस्रो खेलमा जर्मनीलाई इन्जुरी समयमा २-१ को नतिजा सुम्पिएसँगै स्विडेनको समूहचरणबाट माथि उठ्ने लक्ष्य धर्मराएको थियो। अन्तिम खेलमा मेक्सिकोको चुनौती ३-० ले समाप्त गर्दै अन्तत समूह विजेताका रूपमा अन्तिम १६ प्रवेश गरेको स्विडेनले स्विट्जरल्यान्डलाई १-० ले पराजित गर्दै क्वार्टरफाइनलमा इङ्ल्यान्डसँगको भेट पक्का गरेको थियो।

यता समूह जी मा रहेको इङ्ल्याण्डले पहिलो खेलमा ट्युनिसियालाई २-१ र दोस्रो खेलमा पानामालाई ६-१ ले पराजित गरेको थियो। तर तेस्रो खेलमा भने बेल्जियमसँग १-० को हार व्यहोर्दै समूह उपविजेताको रुपमा इङ्ल्याण्ड अन्तिम १६ मा प्रवेश गरेको हो। प्रि क्वाटरफाइनलमा कोलम्बियालाई पेनाल्टी सुटआउटमा ४-३ ले पराजित गर्दै इङ्ल्याण्डले क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको थियो।

समूहचरणको दोस्रो खेलमा पानामालाई ६-१ ले पराजित गरेपनि इङ्ल्यान्डले अन्य खेलमा भने गोलका लागि संघर्ष गर्दै आएको छ। इङ्ल्यान्डका कप्तान ह्यारी केन जारी प्रतियोगितामा ६ गोलका साथ उच्च गोलकर्ताको सूचीको अग्रस्थानमा छन्। उनले पनि ६ मध्ये तीन गोल पेनाल्टीमा गरेका छन्। इङ्ल्याण्डले अब सेमिफाइनलमा क्रोएसिया र रूसबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ। सो खेल आजै राती ११ः४५ मा सुरु हुँदैछ।

 

स्रोत : नागरिक

  • २३ असार २०७५, शनिबार २२:१४ प्रकाशित
  • Nabintech