१५ बैशाख २०८१, शनिबार
बाँकेका ४ औषधी पसलमा शिलबन्दी
  • काँचुली खबर

अस्वस्थ मासु, मिसावट भएको खाद्यान्न तथा म्याद नाघेका पेय पदार्थको बिक्री खुला रूपमै हुँदै आएको बाँकेका विभिन्न बजारमा अहिले मानव जीवनसँग प्रत्यक्ष सरोकार राख्ने औषधी जस्तो महत्वपूर्ण सामानको बिक्रीमा पनि खेलबाड गर्ने गरिएको पाइएको छ । बाँकेका विभिन्न स्थानका औषधि पसल सञ्चालकले चिकित्सकको सिफारिसबिना नै औषधि बिक्री गरी तथा म्याद नाघेका र आफ्नो मनले औषधी बिक्री गरेर सर्वसाधारणको स्वास्थ्यमा खेलबाड गर्दै आएको पाइएको हो ।
औषधी पसल सञ्चालनका लागि अनुमति लिएकाले बिक्री अनुमति नलिएका औषधीसमेत बिक्री गरी स्वास्थ्यमाथि खेलवाड गरेको अनुगमनमा फेला परेको छ । चिकित्सकको सिफारिसबिना नशालु औषधीसमेत बिक्री गरेको पाइएको अनुगमनकर्ताले बताएका छन् ।
दर्ता भएका अधिकांश औषधी पसलेले पनि बिक्री गर्दा मापदण्ड पूरा नगरेको पाइएको छ । पछिल्लो समय बाँकेका विभिन्न स्थानमा सञ्चालित औषधी पसलको अनुगमन गरेपछि उक्त तथ्य खुलासा भएको हो । मापदण्ड पूरा नगरी बिक्री वितरण गर्ने सञ्चालकलाई औषधी व्यवस्था विभाग नेपालगन्जले कारबाही सुरु गरेको छ । सातायता अनुमति नलिएका औषधि बिक्री गर्ने चार पसल शिल गरिएको छ । उनीहरूको औषधि बिक्री अनुमतिपत्र ३० दिनका लागि निलम्बन गरिएको विभागका फार्मेसी निरीक्षक यादवप्रसाद ढकालले बताए । “औषधी पसल सञ्चालन अनुमति लिने तर बिक्री अनुमति नलिएका धेरै भेटिए । चिकित्सकको सिफारिसबिना नै औषधी बिक्री गरिएको पनि पाइयो,” उनले भने ।
औषधी पसल अनुगमन गर्दा चार औषधि पसल सञ्चालकले त्यसरी बिक्री गरेको भेटिएपछि उनीहरूलाई कानुनी दायरामा ल्याइएको छ । नेपालगन्ज उपमहानगरपालिका २० राँझास्थित शान्ति नन्दन मेडिकलले अनुमति नलिएका औषधि बिक्री गरेको पाइएपछि एक महिना निलम्बन गरी शिल गरिएको छ । औषधि ऐन २०३५ को दफा १० ९क० बमोजिम मेडिकल सञ्चालक रामनन्दनप्रसाद बर्माको औषधि बिक्री इजाजत निलम्बन गरिएको हो ।
त्यस्तै, कोहलपुरस्थित सीमा मेडिकल हल, आयुर्वेद औषधि पसल र सुरक्षा मेडिसिन डिस्ट्रिब्युटरलाई कारबाहीको दायरामा ल्याइएको निरीक्षक ढकालले जानकारी दिए । सीमा मेडिकल सञ्चालकले अनुमति नलिएका साइकेटिक औषधिको बिक्री गरी अभिलेख नराखेका कारण कारबाही गरिएको हो । आयुर्वेद औषधि पसलेले अनुमति नै नलिई एलोपेथिक औषधि बिक्री गरेको र सुरक्षा मेडिसिनले दर्ता नभएका औषधि पसललाई वितरण गरेको पाइएपछि कारबाही गरिएको निरीक्षक ढकालले बताए ।
बाँकेमा एउटा व्यक्तिका नाममा औषधि पसल दर्ता गरेर अर्कैले सञ्चालन गर्ने गरेका थुप्रै छन् । कतिपय औषधि पसलमा फार्मेसी नपढेका व्यक्तिले औषधि बिक्री गर्दै आएका छन् । औषधि व्यवस्था विभागले यहाँका शतप्रतिशत औषधि पसलको अनुगमन गर्न भ्याएको छैन ।
यसअघि नेपालगन्ज १८ कारकाँदोस्थित लामा मेडिकल हल र कोहलपुर ११ स्थित जीवनज्वाला मेडिकल हलमा अनुमति नलिएका औषधि बिक्री गरेको पाइएको थियो । औषधि व्यवस्था विभागले अनुमति नै नलिई औषधि बिक्री गर्ने दुवै मेडिकल हलको अनुमतिपत्र १५ दिनका लागि निलम्बन गर्दै त्यस अवधिसम्म औषधि पसल शिल गरेको थियो ।

  • २३ असार २०७५, शनिबार १५:२६ प्रकाशित
  • Nabintech