सशस्त्र प्रहरीको नम्बर ३० गण हे. क्वा. बागेश्वरी नेपालगन्जले पछिल्लो समयमा अबैध रुपमा चोरी पैठारी तथा निकासी गरी ओसारपसार गरिदै आएका विभिन्न अबैध मालसामानहरु धमाधम पक्राउ गर्दै आएको छ ।
दैनिक जसो लाखौंका अबैध मालसामान पक्राउ गर्दै आएको सशस्त्रले शनिबार बाँकेको डुडुवाबाट अबैध काठको गोलिया (सिसम) बरामद गरेको छ ।
बाँकेको डुडुवा गाउँपालिका वडा नम्बर ५, खजुरा गाउँस्थित गोकुल सामुदायिक वन उपभोक्ता समुहको जङ्गलबाट अबैध रुपमा कटानी गरी ल्याउदै गरेको अवस्थामा जंगली सिसम जातको काठ १३ गोलिया र सो काठ लोड गरेको भे१त ७८२६ र भे१त ८१०२ नम्बरका दुईवटा ट्र्याक्टर बरामद गरेको सशस्त्र प्रहरी उपरीक्षक अशोक बमले जानकारी दिए ।

१३ गोलिया जंगली सिसम काठ ११८.१४ क्यु. फिट रहेको र उक्त काठको बजार मूल्य अन्दाजी ५ लाख ३१ हजार ६ सय ३० बराबरको रहेको उनले बताए ।
सशस्त्र प्रहरी आउँदै गरेको देखेपछि ट्र्याक्टर चालक र कामदार भने भागेर फरार भएको र बरामद गरिएको सो काठ र दुईवटा ट्र्याक्टरलाई आवश्यक कारबाहीका लागि डिभिजन बन कार्यालयमा बुझाइएको सशस्त्रले जनाएको छ ।
सशस्त्र प्रहरी सहायक निरीक्षक अम्मर बहादुर थारुको नेतृत्वमा गएको ७ जनाको मोबाइल प्रहरी टोलीले उक्त काठ नियन्त्रणमा लिएको हो ।

३ पुष २०७८, शनिबार १९:१० प्रकाशित