८ बैशाख २०८१, शनिबार
नेवाः देय: दबूको केन्द्रीय विधान महाधिवेशन पुस १६ गते नेपालगन्जमा हुँदै
  • काँचुली खबर

नेपालका नेवार समुदायको राष्ट्रिय संगठन नेवाः देयः दबूको केन्द्रीय विधान महाधिवेशन नेपालगन्जमा हुने भएको छ । यही पुस १६ गते उक्त महाधिवेशन नेपालगन्जमा गर्न लागिएको नेवाः देयः दबू बाँकेले जनाएको छ ।
नेवाः देयः दबू नेवाः भाषा, कला, संस्कृतिको संरक्षण, सम्बर्द्धन र प्रवर्द्धन गर्ने प्रमुख उद्देश्यका साथ स्थापित गरिएको नेवारहरुको साझा छाता संगठन भएको नेवाः देयः दबू बाँकेका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले जानकारी दिए ।
कृष्णप्रसाद श्रेष्ठको अध्यक्षता र संस्थाका केन्द्रीय उपाध्यक्ष चन्द्रलाल राजभण्डारीको प्रमुख आतिथ्यमा शुक्रवार बाँके जिल्लाका नेवारहरुको प्रतिनिधिमूलक भेलाले विधान महाधिवेशनको तयारीको बारेमा व्यापक छलफल गरेको छ ।

भेलाले विधान महाधिवेशनलाई भव्यताका साथ सफल तुल्याउनका लागि गठन गरिएको विभिन्न ११ वटा समितिहरुको अनुमोदन गर्दै समितिलाई पूर्णता प्रदान गरी भोलिदेखि नै आआफ्नो जिम्मेवारीको काममा लाग्न निर्देश गरेको छ ।
महाधिवेशन सफल पार्न दबू बाँकेका अध्यक्ष श्रेष्ठको अध्यक्षतामा २५१ सदस्यीय मूल आयोजक समिति, ५१ सदस्यीय सल्लाहकार समिति र २१ सदस्यीय कार्यान्वयन समिति गठन गरिएको छ ।
त्यसैगरी अध्यक्ष श्रेष्ठको अध्यक्षता तथा नेवाः पुचः बाँकेका उपाध्यक्ष जितेन्द्र कुमार जोशी रहेको सचिवालय समिति, नेवाः मिसाः दबू, बाँकेकी अध्यक्ष शोभा श्रेष्ठको संयोजकत्वमा सगुन व्यवस्थापन समिति, कोषाध्यक्ष विकल श्रेष्ठको संयोजकत्वमा आर्थिक व्यवस्थापन समिति, सल्लाहकार मनोज श्रेष्ठको संयोजकत्वमा मञ्च व्यवस्थापन समिति, नरेन्द्र श्रेष्ठको संयोजकत्वमा झाँकी व्यवस्थापन समिति, ज्ञानेन्द्र कुमार श्रेष्ठको संयोजकत्वमा अतिथि सत्कार व्यवस्थापन समिति, सूर्य कुमार श्रेष्ठको संयोजकत्वमा स्वयम् सेवक व्यवस्थापन समिति, पत्रकार समीर श्रेष्ठको संयोजकत्वमा प्रचार प्रसार समिति, रुपक श्रेष्ठको संयोजकत्वमा फोटो तथा भिडियोग्राफी समिति, दिपेन्द्र जोशीको संयोजकत्वमा आवास व्यवस्थापन समिति र प्रेमलाल श्रेष्ठको संयोजकत्वमा भोजन व्यवस्थापन समिति गठन गरिएको छ ।

भेलामा केन्द्रीय उपाध्यक्ष चन्द्रलाल राजभण्डारी, सल्लाहकार संयोजक अशोक कर्माचार्य, सल्लाहकार पूर्ण लाल चुके र अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठले केन्द्रीय विधान महाधिवेशनलाई भव्यताका साथ सम्पन्न गर्नको लागि गरिएको तयारीको बारेमा जानकारी दिंदै सफलतापूर्वक सम्पन्न गराउन बाँके जिल्लाका सबै नेवारहरु एक ढिक्का भई जुट्न आव्हान गरेका छन ।
उक्त केन्द्रीय विधान महाधिवेशनमा ६८ जिल्ला शाखाका करीब ३ सय जना बढीको सहभागिता हुने आयोजकले जनाएको छ ।

  • २ पुष २०७८, शुक्रबार २०:२७ प्रकाशित
  • Nabintech