सशस्त्र प्रहरी बलको टोलीले सोमबार बाँकेबाट ठुलो परिमाणमा लेडिज ‘ब्रा’ बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी गण बाँकेबाट सशस्त्र प्रहरी नायब निरीक्षक भुपेन्द्र रोकायको कमान्डमा खटिएको टोलीले बाँकेको जानकी गाउँपालिकास्थित खजुराखुर्दबाट आज बिहान ४ बजे भे १ च २६३९ नम्बरको भ्यानसहित १६६९ दर्जन लेडिज ब्रा बरामद गरेको सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेका प्रमुख एसपी अशोक बमले बताए ।
गस्तीमा रहेको सो टोलीले बर्दियाबाट आइरहेको उक्त भ्यान खजुराखुर्दमा रोकिराखेको अवस्थामा चेकजाँचका क्रमम ती अवैध सामाग्री फेला परेको एसपी बमले जानकारी दिए ।
एसपी बमका अनुसार बरामद गरिएको उक्त ‘ब्रा’ को मूल्य ८ लाख १ हजार १२० रुपैयाँ र तस्करी गर्न प्रयोग गरिएको भ्यानको मूल्य ५ लाख रुपैयाँ गरी कुल १३ लाख १ हजार १२० रुपैयाँ रहेको छ । बरामद गरिएका सबै अवैध ‘ब्रा’ र भ्यानलाई आजै नेपालगन्ज भन्सार कार्यालय बुझाइएको सशस्त्र प्रहरी एसपी बमले जानकारी दिएका छन् ।
सशस्त्र प्रहरीले समय समयमा भारतबाट तस्करी भएर नेपाल भित्र्याइएका ठूलो मात्राका त्यस्ता अबैध सामानहरु बरामद गरी भन्सार बुझाउने गरेको छ ।
२७ मंसिर २०७८, सोमबार २०:२१ प्रकाशित