प्युठान कांग्रेसको मतगणनास्थलमा गोली चल्यो, तीनप्रहरीसहित ९ घाइते
  • काँचुली खबर

फोटो: हरी भण्डारीको फेसबुकबाट
नेपाली कांग्रेस प्युठानको जिल्ला सभापतिका लागि निर्वाचन भइ मतगणना भैरहेको स्थलमा गोली चलेको छ । निर्वाचनस्थल स्वर्गद्वारी क्याम्पस पुण्यखोलामा मंगलबार राती गोली चलेको हो ।
कांग्रेस कार्यकर्ता र प्रहरीबिच झडप हुँदा तीनजना प्रहरी सहित कम्तिमा ९ जना घाईते भएका छन । नेपाल प्रहरीका प्रहरी जवान २३ बर्षिय गोपाल जिसी र ३४ बर्षिय चन्द्रबहादुर गाहा र सशस्त्र प्रहरीका वसन्त पण्डित घाईते भएको त्यहाँबाट पत्रकार हरी भण्डारीले जनाएका छन ।
पत्रकार भण्डारीका अनुसार, प्रदर्शनकारीतर्फ घाईते हुनेमा कृष्ण बसेल, स्वर्गद्वारी नगरपालिका -२ का २४ बर्षिय कमल घर्तीमगर, नौबहिनी -६ का २६ बर्षिया कुवेर पुन, लुङ – ६, बहानेका २३ बर्षिय बिनोद रिजाल, प्युठान नगरपालिका -७ का ६५ बर्षिय खेमराज पण्डित र सशिधर केसी रहेका छन । घाईतेहरुलाई उपचारका लागि प्युठान जिल्ला अस्पताल बिजुवार लगिएको छ ।
प्युठान अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि नेपाल प्रहरीका चन्द्र गाहामगर, सशस्त्र प्रहरीका वसन्त पण्डित र कांग्रेस कार्यकर्ता कृष्ण बसेललाई बुटवल रिफर गरिएको पत्रकार भण्डारीले जानकारी दिएका छन ।
निर्वाचन कार्यक्रम अन्तर्गत मतदान सकिएपछि मतगणना सुरु भएको थियो । मतगणना सकिनै लाग्दा सभापतिका उम्मेदवार शिवराज रिजालको भन्दा अर्का उम्मेदवार विष्णुकुमार गिरीको ६६ मत अगाडी भएपछि अर्को पक्षले तोडफोड सुरु गरेको थियो ।
कांग्रेस कार्यकर्ता आफै आफैमा ढुङ्गामुढा र तोडफोडमा उत्रेपछि प्रहरीले छुट्याउन कोसिस गरेको थियो । प्रहरीले छुट्याउन लाग्दा उल्टै प्रहरीमाथि ढुङ्गामुढा हुन थालेपछि स्थिती सामान्य पार्न बल प्रयोग गर्नुपरेको प्रहरीले जनाएको छ । स्थिति नियन्त्रणमा लिन प्रहरीले ७ राउण्ड अश्रुग्यास र केही राउन्ड गाेली चलाएको बताइएको छ ।
कुल १ हजार १०९ प्रतिनिधि रहेको प्युठान कांग्रेस निर्वाचनमा १ हजार ६५ जनाले मतदान गरेका थिए । मतगणनाको अन्तिम समयमा एकहजार मत गणना हुँदा सभापतिका उम्मेदवार शिवराज रिजालको भन्दा अर्का उम्मेदवार विष्णुकुमार गिरी ६६ मतले अगाडी थिए । रिजालले ४६३ र गिरीले ५२९ मत प्राप्त गरेका थिए । अब ६५ मत मात्र गणना हुन बाँकी रहेको बताइएको छ । अहिले मतगणना स्थगित गरिएको छ । रिजाल संस्थापन पक्षका हुनभने गिरी सिटौला पक्षका हुन ।
घटनाको बिस्तृत बिबरण आउन बांकी छ ।

  • ७ मंसिर २०७८, मंगलवार २३:०० प्रकाशित
  • Nabintech