नेपालगन्जको विपी चोक नजिक रहेको किराना तथा खाद्य पदार्थको थोक तथा फुट्कर बिक्रेता ‘अन्सारी ट्रेडर्स’ कारबाहीमा परेको छ ।
संयुक्त बजार अनुगमन समितिले बिहिबार गरेको अनुगमनका क्रममा अनुचित व्यापारिक क्रियाकलाप गरेको पाइएपछि उक्त फर्मलाई कारबाही स्वरुप ५० हजार रुपैयाँ जरीवाना गरिएको छ ।
अनुगमनका क्रममा उक्त फर्मले म्याद नाघेका खान अयोग्य सामाग्रीहरुको खुल्ला रुपमा बिक्रीवितरण गरेको र अनुचित व्यापारिक क्रियाकलाप गरेको पाइएकाले अन्सारी ट्रेडर्सलाई ५० हजार जरीवाना गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रवक्ता देवीलाल चौलागाईले बताए ।
अनुगमन समितिले उक्त फर्मलाई ५० हजार जरीवाना गर्नुका साथै ८ हजार रुपैयाँ बराबरको म्याद नाघेका खान अयोग्य अखाद्य सामाग्रीहरु पनि नष्ट गरिएको उनले जानकारी दिए ।
अनुगमन टोलीमा जिल्ला प्रशासान कार्यालयका वेदेश्वर गौतम, बाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयका प्रमुख कृष्णप्रसाद पौड्याल, नेपालगञ्ज उपमहानगरपालिकाका प्रविन राना, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रेम कुमार लिम्बु, उपभोक्ता हित संरक्षण मञ्चका बसन्त गौतम लगायतको सहभागिता रहेको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रवक्ता चौलागाईले बताए ।
३ मंसिर २०७८, शुक्रबार ०७:१९ प्रकाशित