बाँके एमालेको लालकिल्ला : एमाले अध्यक्ष ओली
  • काँचुली खबर

नेकपा एमालेका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले अब बाँके जिल्ला एमालेको लालकिल्ला भएको बताएका छन । अध्यक्ष ओलीले आज नेपालगन्जमा आयोजित एक बृहत् पार्टी प्रवेश कार्यक्रममा यस्तो बताएका हुन ।
पार्टी प्रवेश कार्यक्रममा नेपालगन्जका व्यवसायी तथा बाँकेका पुर्व जिविस सभापति पशुपति दयाल मिश्र लगायत हजारौं सर्वसाधारणलाई एमालेमा प्रवेश गराउँदै उत्साहित भएर उनले यस्तो बताएका हुन ।
‘बाँके जिल्ला अब एमालेको लालकिल्ला भइसक्यो । अहिलेसम्म कस्ले चुनाव जित्छ भन्ने कुरो चुनाव पछि मात्र टुंगो लाग्थ्यो भने बाँकेमा भने पहिले नै टुंगो लागिसक्यो ।’ उनले भने ‘चुनाव अगाडी नै एमालेले बाँके जितिसक्यो ।’
एमाले कुनै जात बिशेष, धर्म बिशेष, भुगोल बिशेषको मात्र प्रादेशिक पार्टी नभएको भन्दै उनले मेचिदेखी महाकालीसम्म, तराईदेखी हिमालसम्मका सम्पुर्ण जातजाति, सम्पुर्ण धर्मावलम्बी मान्ने जनताहरुको साझा राष्ट्रिय पार्टी भएको उनले बताए ।
पाँच दलिय गठबन्धनतिर इंगित गर्दै उनले एमालेसङ्ग एक्लै एक्लै भिड्ने कसैको ताकत नभएपछि, पराजित गर्ने हिम्मत नभएपछि पाँच दलिय गठबन्धन मिलेर एमाले एक्लैको विरुद्ध खनिएको बताए । ‘पाँच दल मिलेर गठबन्धन बनाएर एमाले एक्लैको विरुद्ध खनिएका छन, रोइरहेका छन, यता एमालेतिर आकर्षित हुँदै दिनानुदिन हजारौं जनता एमाले प्रवेश गरिरहेका छन ।’ उनले भने ।
एमाले लोकतन्त्रका लागि लडेको पार्टी भन्दै उनले देशमा राष्ट्रियताको पहरेदार गर्ने, भौगोलिक अखण्डताको पहरेदार गर्ने, विभिन्न भेदभाव र पक्षपातको बिरोध गर्ने पार्टी एमालेमात्र भएको बताए ।
उनले एकपटक बिरोधिहरुले देशभर मधेसमा मधेस बिरोधि, पहाडमा आदिवासी जनजाति बिरोधि भनेर बिरोधिहरुले एमालेको विरुद्धमा हल्ला मच्चाएको भन्दै त्यो कुरा सत्य नभएको प्रमाणित भैसकेको बताए । मधेसमा दैनिक हजारौं मधेसबासीहरु र पहाडमा आदिवासी जनजातिहरु एमालेप्रति आस्था राख्दै बिश्वास गर्दै एमाले प्रवेश गरिरहेको बताउँदै उनले जति अफवाह फैलाएपनि मधेसमा एमाले झन बलियो भएको बताए ।
एक अर्को प्रसङ्गमा ओलीले ५१ सालबाट मासिक एकसय रुपैयाँबाट एमालेले सुरु गरेको ज्येष्ठ नागरिक भत्ता अहिले ४ हजार रुपैयाँ पुर्‍याएको बताए । ‘सामाजिक सुरक्षा भत्ता, ज्येष्ठ नागरिक भत्ता आदि ५१ सालमा एमालेको सरकारले सुरु गरेको थियो, मेरै प्रधानमन्त्री कालमा मैले ज्येष्ठ नागरिक भत्ता बढाएर मासिक ४ हजार पुर्‍याएँ ।’ उनले भने ।

  • १ मंसिर २०७८, बुधबार १५:४० प्रकाशित
  • Nabintech