११ बैशाख २०८१, मंगलवार
कैलाश मानसरोवर गएका तिर्थयात्रीहरुलाई नेपालगन्ज ल्याउने क्रम जारी
  • काँचुली खबर

कैलाश मानसरोवर गएका तिर्थयात्रीहरुलाई हुम्ला बाट नेपालगन्ज ल्याउने क्रम जारी रहेको छ ।
नेपाल–चीन सीमा हिल्सामा करिब साढे चार सय र हुम्ला सदरमुकाम सिमकोटमा ६ सय २९ तीर्थयात्री रोकिएका छन् । बुधबार मौसम सुध्रेपछि तीन सय १० जनालाई नेपालगन्ज झारिएको छ । नेपालगन्ज ल्याउनका लागी तारा,सिता र समिट एअरलाईन्सका बिमानहरु प्रयोग गरिएको छ । यही असार १७ र १८ गते मौषम प्रतिकुलताका कारण नेपालगन्जबाट हुम्लाका लागी उडान हुन नसकेका कारण तीर्थयात्रीलाई ल्याउन कठिन भएको थियो । मौषममा सुधार आउना साथ मङ्गलवार देखीे दैनिक १२ देखी १५ ओटा सम्म उडान भैरहेको नागरिक उड्डयन कार्यालय नेपालगन्जका निमित्त कार्यालय प्रमुख सोहननाथ जोशीले जानकारी दिनुभयो ।
तिर्थयात्रीहरुलाई नेपालगन्जमा कुनै समस्या नभएपनी हुम्लाको सिमकोट र हिल्सामा भने निकै समस्या रहेको तिर्थयात्रीहरुले बताएका छन । उनिहरुले सिमकोट र हिल्सामा खाना र औषधी समेत नपाएको गुनासो गरे । लेक लागेर र अन्य कारणले कैलाश मानसरोबर जाने तिर्थयात्रीहरु मध्य यस वर्ष ८ तीर्थयात्रीको मृत्यु भएको छ । कैलाश मानसरोवर जाने तीर्थयात्रीको मृत्यु हुनुको प्रमुख कारण ‘हाई–अल्टिच्युड’ (लेक लाग्नु) हो । तीर्थयात्रीको अन्तिम लक्ष्य मानिएको कैलाश समुद्री सतहदेखि ५ हजार ९ सय ५० मिटर उचाइमा छ । तीर्थयात्री भने साढे ३ हजारदेखि ५ हजार मिटरसम्म मात्र पुग्ने गर्छन् । त्यसमाथि यस वर्ष चीनले डोर्लापासभन्दा अघि बढ्न कडाइ गरेको छ । ५२ किलोमिटर लामो कैलाशको फेरो पूरा गर्न पैदलै तीन दिन लाग्छ । तर, अधिकांश तीर्थयात्री परिक्रमा नगरेरै फर्किन्छन् । अहिलेसम्म हिल्सा नाका भएर करिब ६ हजार ६ सय तीर्थयात्रीले कैलाश दर्शन गरेका छन् । वैशाख तेस्रो सातादेखि सुरु भएको कैलाश मानसरोवर यात्रा असोज मध्यसम्म चल्ने गर्छ । अझै तीन महिना बाँकी रहेको र चिसो पनि बढ्ने सम्भावना भएकाले तीर्थयात्रीसामु जोखिम यथावतै छ ।

  • २१ असार २०७५, बिहीबार १७:५७ प्रकाशित
  • Nabintech