पत्रकार महासंघ लुम्बिनीले प्रदेशभित्रका सबै पत्रकारको १० लाखको नि:शुल्क दुर्घटना बिमा गर्ने
  • काँचुली खबर

नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिले प्रदेशभित्रका महासंघका सम्पुर्ण सदस्य पत्रकारहरुको १० लाखको नि:शुल्क दुर्घटना बिमा गर्ने भएको छ । समितिको आज भालुवाङमा बसेको दोस्रो औपचारिक बैठकले यस्तो निर्णय गरेको सचिब शिव सुनारले जानकारी दिए । लुम्बिनी प्रदेशमा १ हजार ७ सय जना महासंघका सदस्य रहेको उनले बताए ।
बैठकले पत्रकार कल्याणकारी कोष स्थापना गर्ने, शीतगङ्गा नगरपालिकाबाट प्राप्त करीव ३ रोपनी जग्गामा सुविधासम्पन्न र भव्य प्रदेश कार्यालय भवन निर्माण गर्ने र भवन निर्माणका लागि अध्यक्ष वसन्त गिरीको संयोजकत्वमा निर्माण समिती गठन गरेको छ ।
त्यसैगरी, अन्तर्राष्ट्रिय मिडिया सम्मेलन लुम्बिनीमा आयोजना गर्ने, रुकुम पूर्वमा मंसिर मसान्तसम्म महासंघको शाखा गठन गर्ने, प्रदेशसभामा पेश भएको सन्चारसम्बन्धी विधेयक तत्काल फिर्ता गरि पुनर्लेखन गर्न प्रदेश सरकारसँग माग गर्ने, भवन निर्माणका लागि जग्गा उपलव्ध गराउने शीतगङ्गा नगरपालिका र पहल गर्ने महासंघको अर्घाखाँची शाखाप्रती धन्यवाद तथा आभार प्रकट गर्ने निर्णय गरेको र प्रदेश समितिका सदस्य विन्दुकुमार चौहानको निधनप्रति शोक प्रस्ताव पारित गरेको सचिब सुनारले बताए ।

बैठकले विभिन्न ५ विभागहरु गठन गरेको छ । संगठन विभागको संयोजकमा महासचिव विक्रम खड्का, प्रकाशन विभाग संयोजकमा केशरमान बुढाथोकी, अनुशासन विभाग संयोजकमा शुक्रऋषि चौलागाईं, महिला विभाग संयोजकमा चुमा आचार्य र समावेशी विभाग संयोजकमा शिव सुनारलाई चयन गरेको छ ।
प्रकाशन विभागले “लुम्बिनीको पत्रकारिता” नामक इतिहास लगायतका पुस्तक प्रकाशन गर्ने निर्णय गरेको छ । नेपाल पत्रकार महासंघ संघीय समितिका उपाध्यक्ष उदय जिएमको प्रमुख आतिथ्यतामा बैठक सम्पन्न भएको थियो ।

  • २८ कार्तिक २०७८, आईतवार १८:२२ प्रकाशित
  • Nabintech