मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई निर्वाचन सामाग्री हस्तान्तरण
  • काँचुली खबर

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आइतबार बाँकेमा सम्पन्न हुन लागेको वडा तहको निर्वाचनका लागि ८१ वटै वडाका मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई निर्वाचन सामाग्री हस्तान्तरण गरिएको छ ।
जिल्ला निर्वाचन परिचालन समितिले शुक्रबार मतदान अधिकृत र सहायक मतदान अधिकृतका लागि अभिमुखिकरण कार्यक्रम राखेको थियो । अभिमुखिकरण कार्यक्रम पश्चात सम्बन्धित वडाका मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई निर्वाचन गराउन आवश्यक पर्ने सामाग्री दिएर पठाइएको निर्वाचन अधिकृत एवम् वरिष्ठ अधिवक्ता रेवती रमण भट्टराईले जानकारी दिए । ‘निर्वाचन सम्पन्न गर्नका लागि ध्यान दिनुपर्ने कुराबारे उहाँहरुलाई अभिमुखिकरण गरियो, त्यसपछि सबैलाई निर्वाचन सामाग्री दिएर कार्यक्षेत्रमा पठाउने काम भइसकेको छ,’ उनले भने ।

अभिमुखिकरणमा जिल्लाका ८ वटै स्थानीय तहका ८१ वटा वडाबाट मतदान अधिकृत र सहायक मतदान अधिकृत सहभागी भएका थिए । अभिमुखिकरण कार्यक्रमलाई सम्बोधन गर्दै निर्वाचन अधिकृत भट्टराईले नेपाली कांग्रेसको १४ औं महाधिवेशनको निर्वाचन सम्पन्न गर्ने ठुलो जिम्मेवारी मतदान अधिकृत र सहायक मतदान अधिकृतको काँधमा आएको भन्दै उनले ‘पार्टीको निर्वाचन सम्पन्न गर्न तपाईहरु वडा–वडामा खटिदै हुनुहुन्छ, तपाईमाथी ठुलो जिम्मेवारी छ, त्यसकारण निश्पक्ष र विवाद रहित ढंगले चुनाव सम्पन्न गराउनु होला ।’
समितिका सदस्य एवम् नेपाल शिक्षक संघ बाँकेका अध्यक्ष बीरेन्द्र यादवले निर्वाचनमा मतदान अधिकृत र सहायक मतदान अधिकृत भएर खटिसकेपछि तटस्थ भूमिका खेल्नुपर्ने बताए । ‘तपाईहरुले निर्वाचन सम्पन्न गर्दासम्म आफुलाई पार्टीभन्दा बाहिर राखेर काम गर्नुस्, तपाईहरुलाई कुनैपनि खालको आरोप र समस्या आउँदैन,’ उनले भने ‘तपाईको निश्पक्षतामाथी प्रश्न उठ्नु भनेको सिंगो शिक्षक संघ नै बद्नाम हुनु हो, यसमा विशेष ध्यान दिनुहोला ।’

अभिमुखिकरण कार्यक्रममा स्वागत मन्तब्य दिदै निर्वाचन परिचालन समितिका सदस्य (प्रवक्ता) एवम् नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष अर्जुन ओलीले नेपाली कांग्रेसको निर्वाचनलाई सफल बनाउने दायित्व सबैको भएको बताए । शुभेच्छुक संस्था भएको नाताले प्रजातान्त्रिक कानुन ब्यवसायी संघ (डिएलए), नेपाल शिक्षक संघ, नेपाल प्रेस युनियन र प्रजातान्त्रिक प्राध्यापक संघलाई पार्टीले ठुलो विश्वास गरेको उनको भनाइ थियो । ‘बाँकेको निर्वाचन शान्तिपूर्ण रुपले सम्पन्न गरेर देशभर सन्देश दिन जरुरी छ, यसका लागि निर्वाचन विवादरहित ढंगले सम्पन्न गर्नुपर्छ,’ उनले भने ।
निर्वाचन परिचालन समितिका सदस्य एवम् डिएलए बाँकेका अध्यक्ष इश्वरीप्रसाद ज्ञवालीले निर्वाचनका प्राविधिक पक्षबारे जानकारी गराएका थिए । समितिका सदस्य तथा शिक्षक संघ बाँकेका सचिव ऋषिराज शर्माले सञ्चालन गरेको अभिमुखिकरण कार्यक्रममा सहायक निर्वाचन अधिकृत (अधिवक्ता) चित्रबहादुर शाही, प्रजातान्त्रिक प्राध्यापक संघ बाँकेका अध्यक्ष अशोक बस्नेत, निर्वाचन परिचालन समितिका (सचिव) एवम् अधिवक्ता प्रभाकर भट्टराई लगायत उपस्थित भएका थिए ।
निर्वाचन कार्यक्रम अन्तर्गत शनिबार उम्मेदवारी मनोनयन लगायतका काम सम्पन्न हुनेछन् । बाँकेको वडादेखी जिल्ला तहसम्मको संशोधित निर्वाचन तालिका अनुसार कात्तिक २८ गते वडा, मंसिर १ गते गाउँपालिकारनगरपालिका, मंसिर ४ गते प्रदेश सभा, मंसिर ७ गते क्षेत्र र मंसिर ११ गते जिल्लाको निर्वाचन हुनेछन् ।

  • २६ कार्तिक २०७८, शुक्रबार २०:०१ प्रकाशित
  • Nabintech