चर्चित जनवादी गायिका गुरुङको निधन
  • काँचुली खबर

रक्तिम सांस्कृतिक अभियानकी चर्चित जनवादी गायिका लक्ष्मी गुरुङको निधन भएको छ । श्वासप्रश्वास र निमोनियाद्वारा पीडित गुरुङको बिहिवार रुपन्देहीको भैरहवामा निधन भएको हो ।
घरमै अक्सिजन लगाएर उपचार गरिरहेकी उनलाई स्वास्थ्यमा थप समस्या देखिएपछि केही दिन अगाडि उपचारका लागि भारतको गोरखपुर लगिएको थियो । उपचार गरी फर्कंदा पुनः श्वासप्रश्वासको समस्या देखा परेपछि उनलाई भैरहवा मेडिकल कलेज अस्पताल पुर्‍याइएको थियो । त्यहाँ अस्पतालले उनलाई मृत घोषणा गरेको थियो । उनको आजै बुटवलस्थित गुरुङडाँडामा दाहसंस्कार गरिने बताइएको छ ।
गुरुङ रक्तिम सांस्कृतिक अभियानकी केन्द्रीय सल्लाहकार तथा रुपन्देही जिल्ला समितिकी सदस्य थिईन । उनले “उत्तरबाट बादल आउँदा” लगायतका रक्तिम सांस्कृतिक अभियानका थुप्रै चर्चित जनवादी गीतहरुमा स्वर दिएकी थिइन ।
कास्की जिल्लाको भदौरेमा विसं २०२३ सालमा बुवा कृष्ण गुरुङ र आमा गर्भीबाट जन्मेकी गुरुङ सानैदेखि गीत संगीतमा रुची राख्थिन । उनी सानै छँदा उनको परिवार रुपन्देहीको बेलैयामा बसाइँ सरेको थियो । उनको एक छोरा र एक बुहारी छन ।

  • २६ कार्तिक २०७८, शुक्रबार १३:५२ प्रकाशित
  • Nabintech