नेपालगञ्ज म्याराथनको स्कटिङ विश्व साइकलयात्री पुष्कर शाहले गर्ने
  • काँचुली खबर

धारा सातौं नेपालगञ्ज म्याराथनको स्कटिङ विश्व साइकलयात्री पुष्कर शाहले गर्ने भएका छन् । यहि मंसीर ४ गते नेपालगञ्जमा हुने म्याराथनको अगुवाको विश्व साइकलयात्री शाहले साइकलबाट स्कटिङ गर्ने भएका हुन् ।
नेपालगञ्ज म्याराथनको चौथो संस्करणदेखि नेपालगञ्ज साइक्लिङ क्लवले स्कटिङ गर्दै आएको छ । आयोजक क्रियटिभ ह्याण्डस्ले पर्यावरणतर्फ ध्यान दिदै म्याराथनको धावकको साइकलबाट स्कटिङ गराउदै आएको छ । गतवर्षको म्याराथन विजेता गोपीचन्द्र पार्कीको स्कटिङ साइकलयात्री यमलाल रसाइलीले गरेका थिए ।
एक जना म्याराथन धावकको एकजना साइकलयात्रीबाट स्कटिङ हुने गर्दछ । क्रियटिभ ह्याण्डस्का अध्यक्ष टीएस ठकुरीले यसपालीको म्याराथनका अगुवाको विश्व साइकलयात्री शाहले स्कटिङ गर्ने जानकारी दिए । अध्यक्ष ठकुरीले विश्व साइकलयात्री शाहले नेपालगञ्ज म्याराथनका धावकको स्कटिङ गर्ने कुराले आयोजकलाई थप हौसला बढेको बताए ।
नेपालगञ्ज म्याराथनमा देशका चर्चित धावकहरु दौडिने गर्दछन् । नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीका धावकहरु नेपालगञ्ज म्याराथनमा सहभागी हुने गरेका छन् । फूल म्याराथन (पुरुष) र हाफ म्याराथन (महिला) मा देशकै चर्चित धावकहरु दौडिदा १० किलोमिटर, ५ किलोमिटरमा लामो दौडको अभ्यास गरिरहेकाहरु दौडिने गर्दछन् । कर्पोरेट रन र वाकाथनमा शहरका गन्यमान्य व्यक्तित्वहरुको सहभागिता रहदै आएको छ । क्रियटिभ ह्याण्डस्का अध्यक्ष ठकुरीले म्याराथन केवल दौडमात्रै नभएर यो शहर चिनाउने अभियान भएको बताए । उनले यसपाली नेपालगञ्जको सुर्खेतरोडमा सात हजार मानिसलाई दौडाउने तयारी भएको जानकारी दिए ।
सातौ धारा नेपालगञ्ज म्याराथनको उद्घाटन युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज ‘अथक’ले गर्ने तय भइसकेको छ । यसपालीको म्याराथनमा महानायक राजेश हमाल दौडिने भएका छन् । नेपाल सरकार र तत्कालिन विद्रोही माओवादीका बीचमा मंसीर ५ गते भएको विस्तृत शान्ति सम्झौताको दिनलाई स्मरण गर्न प्रत्येक वर्ष मंसीरको पहिलो हप्ताको शनिबार नेपालगञ्ज म्याराथन हुँदै आएको छ । नेपालगञ्ज म्याराथनलाई भब्य र सभ्य बनाउन धारा तेल, आशिर्वाद पेन्टस्, शिखर प्लाई, राष्ट्रिय बाणिज्य बैंक, फोन पेको साथ र सहयोग रहेको छ ।
नेपालगञ्ज म्याराथनको पहिलो संस्करणमा नेपाली सेनाका होमलाल श्रेष्ठ, दोस्रोमा नेपाली सेनाकै कृष्ण बस्नेत, तेस्रोमा जुम्लाका दुर्ग बुढा, चौथोमा नेपाल प्रहरीका भूमिराज राई, पाँचौमा नेपाली सेनाका नवराज साउद र छैठौमा सशस्त्र प्रहरीका गोपीचन्द्र पार्की विजयी भएका थिए । नेपालगञ्ज म्याराथनको छैठौ संस्करणलाई टोकियो ओलम्पिक छनौटको रुपमा लिइएको थियो ।

  • २३ कार्तिक २०७८, मंगलवार १७:१६ प्रकाशित
  • Nabintech