नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी बलियो पार्टी भएन भने राष्ट्र दुर्घटनामा पर्ने खतरा रहेको बताएका छन् । बिहीवार नेकपा (माओवादी केन्द्र) मध्यपुर थिमि नगर कमिटीले नेपाल सम्वत् ११४२ को अवसरमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।
उनले देशी, विदेशी शक्तिहरु माओवादी आन्दोलनलाई कमजोर पार्ने षड्यन्त्रमा लागेको बताए । माओवादीलाई चार टुक्रा बनाएर फुटाउँदापनि प्रचण्ड ज्यूँदै रहुञ्जेल माओवादी पार्टी झन जागेर आउने देखेर खासगरी प्रचण्डलाई नै तारो बनाउन खोजेको उनको भनाइ छ ।
एक अर्को प्रसंगमा उनले माओवादी केन्द्रबाट सरकारमा सहभागी मन्त्रीहरुले जनताको पक्षमा काम नगरे तुरुन्तै कारबाही गर्ने बताए । उनले भने, ‘तपाईँहरुको साथ भयो भने जनताको पक्षमा काम नगर्ने मन्त्रीलाई तुरुन्तै कारबाही गर्ने मान्यताबाट हामी अगाडी बढेका छौँ ।’
१८ कार्तिक २०७८, बिहीबार १९:०७ प्रकाशित