कर्णाली प्रदेश सरकारका तीन जना मन्त्री आज (सोमवार) पदमुक्त हुँदै छन् । प्रदेशसभा सदस्य नरहेको व्यक्ति ६ महीनाभन्दा बढी मन्त्री बन्न नपाइने कानूनी व्यवस्था अनुसार तीनै जनाको पदावधि आजदेखि सकिंदैछ ।
सांसदविनै मन्त्री बनेका भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री अम्मरबहादुर थापा, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री कुर्मराज शाही र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढा आज स्वतः पदमुक्त हुन लागेका हुन् ।
तिनै जना मन्त्री सरकारमा जानुअघि नेकपा (एमाले)का सांसद हुन् । पार्टीको निर्देशनविपरीत गत वैशाख ३ गते ‘फ्लो क्रस’ गरेर माओवादी केन्द्रका नेता महेन्द्रबहादुर शाही नेतृत्वको सरकारलाई विश्वासको मत दिए ।
त्यसलगत्तै मुखयमन्त्री महेन्द्रबहादुर शाहीले वैशाख ४ गते तीन जनालाई मन्त्री नियुक्त गरेका थिए । पछि एमालेले कारबाही गरेपछि उनीहरूले सांसद पद गुमाए ।
प्रदेशसभा सदस्य पद गुमाएका तीनै जनाले वैशाख १५ गते पुनः गैरसांसदको हैसियतमा शपथ ग्रहण गरेका थिए । उनीहरू तीनै जना हाल नेकपा (एकीकृत समाजवादी) पार्टीमा छन् ।
मन्त्री थापा नेकपा (एकीकृत समाजवादी)को कर्णाली प्रदेश अध्यक्षको जिम्मेवारीमा पनि छन् । मुख्यमन्त्रीलाई विश्वासको मत दिने समयमा ‘फ्लोर क्रस’ गरेका अर्का नेता प्रकाश ज्वाला भने अहिले नेकपा (एकीकृत समाजवादी)को प्रदेश इञ्चार्ज तथा केन्द्रीय उप-महासचिवको जिम्मेवारीमा छन् ।
तीन मन्त्रालय नछोड्ने एकीकृत समाजवादीको निर्णय
कर्णालीमा मुख्यमन्त्रीसहित आठ सदस्यीय मन्त्रिमण्डल छ । तीन मन्त्री स्वतः पदमुक्त भएपछि केही दिनभित्रमै मन्त्रिपरिषद् पनर्गठन हुनेछ ।
आफ्नो पार्टीका तीन मन्त्री पदमुक्त भएसँगै सो ठाउँमा आफ्नै पार्टीका तीन जनालाई पठाउने एकीकृत समाजवादी कर्णाली प्रदेशले निर्णय गरेको छ । आइतबार बसेको प्रदेश कमिटीको बैठकले सो निर्णय गरेको हो ।
१५ कार्तिक २०७८, सोमबार ०९:१५ प्रकाशित