नेपाल–भारत मैत्री बस सेवा पुनः संचालनमा
  • काँचुली खबर

दुई वर्षदेखि रोकिएको नेपाल–भारत मैत्री बस सेवा आज (आइतवार)बाट पुनः सञ्चालनमा आएको छ । कोरोना महामारीपछि रोकिएको बस सेवा कोरोना संक्रमण दर क्रमशः घट्दै गएकाले नेपालगञ्जबाट भारतको राजधानी दिल्ली, उत्तर प्रदेशको राजधानी लखनउ र हरिद्वारका लागि पुनः संचालन हुने भएको हो ।
भेरी यातायात प्रालिले नेपाली नम्बरको बस नेपालगञ्जबाट दिल्ली, लखनउ र हरिद्वारका लागि पुनः सञ्चालनमा ल्याएको प्रालिका अध्यक्ष राजेन्द्र गिरिले जनाकारी दिए । दुईवर्ष अघि सञ्चालनमा ल्याएको सो बस सेवा बन्द गर्नु पर्दा व्यवसायीलाई ठूलो नोक्सानी भएको उनले बताए । उनले यसबीचमा टुर्स ट्राभल्सका नाममा टिकट काटेर नेपालीलाई अलपत्र पार्ने गिरोहका कारण भारतका विभिन्न सहर जाने यात्रीलाई मैत्री बसले भरपर्दो र सुरक्षित सेवा दिने दाबी गरे ।
कोरोना संक्रमण घट्दै गएर अवस्था सामान्य बन्दै गएपछि फेरि सो बस सेवा सुरु गर्न लागिएको उनले बताए । अध्यक्ष गिरीका अनुसार लखनउका लागि हरेक दिन ८ बजे नेपालगञ्जबाट बस छुट्ने र लखनउबाट नेपालगञ्जका लागि राती ८ बजे छुट्ने छ । यसैगरि दिल्लीका लागि साँझ ५ बजे नेपालगञ्जबाट छुट्ने र दिल्लीबाट नेपालगञ्जका लागि पनि साँझ ५ बजे नै बस छुट्ने छ ।
यस्तै, हरिद्वारका लागि नेपालगञ्जबाट राती ८ बजे बस छुट्ने र हरिद्धारबाट नेपालगञ्जका लागि अपरान्ह ४ बजे बस छुट्ने छ । लामो समयदेखि रोकिएको सो बस सेवा फेरि सुचारु भएपछि दिल्ली, लखनउ र हरिद्वार जाने नेपालीलाई सहज हुने भएको छ ।
रुपैडिहाबाट हरिद्वार र दिल्ली जाने नेपाली धेरै ठाउँमा ठगिने गरेकोले पनि नेपाल–भारत मैत्री बस सेवाबाट ती ठाउँको यात्रा सुरक्षित र सहज हुने भेरी यातायात प्रालिले जनाएको छ । बस सेवा सुरु भएपछि दुबै देशबीच व्यापार व्यवसाय समेत बढ्ने नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले बताए ।
उनले भने, ‘कोरोनाले थलिएको यातायात व्यवसायलाई मैत्री बस पुनः सञ्चालन हुँदा व्यवसायमा ठूलो प्रभाव पार्ने छ ।’ उनले यस सेवाले रुग्ण अवस्थामा रहेको व्यावसाय पुनः सञ्चालन हुने र गति लिने विश्वास व्यक्त गरे ।

  • १४ कार्तिक २०७८, आईतवार १२:४४ प्रकाशित
  • Nabintech