एमाले पालिका अधिवेशन: बाँकेका ८ मध्ये २ पालिकामा स्थगित, नेपालगन्जमा आचार्यको नेतृत्व
  • काँचुली खबर

नेकपा एमालेको देशैभर एकसाथ आज सम्पन्न गर्ने भनिएको स्थानिय तहको अधिवेशनमा बाँकेका ८ पालिकामध्ये ६ पालिकामा सर्वसम्मत नेतृत्व चयन भएको छ भने २ वटा पालिकामा सर्वसम्मत हुन नसकेपछि अधिवेशन आज स्थगित भएको छ ।
८ वटा स्थानीय तहमध्ये ६ वटा पालिकामा सर्वसम्मत रुपमा अधिवेशनले नयाँ नेतृत्व चयन गरेको र बाँकी २ पालिकामा सर्वसम्मत हुन नसकेपछि भोलि बुधबारसम्मका लागि अधिवेशन स्थगित भएको नेकपा एमाले बाँकेका अध्यक्ष निरक गुरुङले जानकारी दिए ।
अध्यक्ष गुरुङका अनुसार आज नेपालगन्ज उपमहानगरपालिका, खजुरा गाउँपालिका, जानकी गाउँपालिका, डुडुवा गाउँपालिका, नरैनापुर गाउँपालिका र राप्तिसोनारी गाउँपालिकामा अधिवेशन सम्पन्न भएको छ भने कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिकामा स्थगित भएको छ । स्थगित भएका पालिकामा सर्वसम्मत रुपमा भोली अधिवेशन सम्पन्न हुने अध्यक्ष गुरुङले बताए ।
नेपालगन्ज उपमहानगरपालिकामा अध्यक्ष दत्त प्रसाद आचार्य र सचिबमा मोहित शाह चयन भएका छन । त्यसैगरी खजुरामा गेहेन्द्र धिताल, डुडुवामा शकिल खान, नरैनापुरमा पन्चराम यादव,जानकीमा विश्राम वर्मा र राप्तिसोनारीमा मनोज केसी अध्यक्षमा चयन भएको गुरुङले जानकारी दिए ।
तस्वीर : दीपक वर्माको फेसबुकबाट ।

  • ९ कार्तिक २०७८, मंगलवार २१:१६ प्रकाशित
  • Nabintech