इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद पैगम्बर सल्ललाहो अलैहे वसल्लमको जन्म जयन्ती अर्थात ‘मोहम्मद डे’ को अवसर पारेर बाँकेको जानकी गाउँपालिकाले भोलि मंगलवार कार्तिक ३ गते एकदिन पालिकाभित्र सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रमुख प्रशासकीय अधिकृत बसबहादुर रानाद्वारा जारी गरिएको सूचनामा उक्त कुरा जनाइएको छ ।
त्यसैगरी, नरैनापुर गाउँपालिकाले पनि ‘मोहम्मद डे’ को अवसरमा मंगलवार एकदिन पालिकाभित्र सार्वजनिक बिदा दिने निर्णय गरेको पालिका अध्यक्ष शैयद ईश्तियाक अहमद शाहले जानकारी दिए ।
इस्लाम धर्मावलम्बीले धुमधामका साथ मनाउने ‘मोहम्मद डे’ मोहम्मदको जन्म इस्लामी पात्रो हिजरी सम्वतको रब्बी अव्वल महिनामा साउदी अरबको मक्कामा बीबी आमिनाको कोखबाट भएको बताइन्छ । उनको निधन ६३ वर्षको उमेरमा साउदीकै मदिनामा भएको थियो ।
मोहम्मदको जन्मदिनमा विभिन्न नाअत शरिफ वाचन गर्ने तथा उनका उपदेश र वाणीको स्मरण गर्ने गरिन्छ । बाँकेमा रहेका इस्लाम धर्मावलम्बीहरुले हजरत मोहम्मदको जन्म दिनका अवसरमा एकआपसमा खुसियाली साट्दै बाजागाजाका साथ र्याली निकाल्ने गर्दछन ।
१ कार्तिक २०७८, सोमबार १६:०७ प्रकाशित