युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक)ले नेपाली फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीलाई नेपाल फर्काउने प्रयास भईरहेको बताएका छन । गृहजिल्ला बाँकेमा रहेका मन्त्री अथकले प्रेस सेन्टर बाँकेको अन्तरक्रिया कार्यक्रममा बोल्दै अलमुताइरीलाई नै नेपाली फुटबल टिमको मुख्य प्रशिक्षकका रुपमा नेपाल फर्काईने बताएका हुन ।
साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताकालागि मालदिभ्स पुगेका अलमुताइरीले नेपाली फुटबल टिमको मुख्य प्रशिक्षकबाट राजिनामा दिने घोषणा गरेका थिए । अलमुताइरीले प्रशिक्षकबाट राजिनामा दिने घोषणा गरेलगत्तै उनिसँग हटलाईन कुरा गरेर समस्या समाधान गर्ने प्रयास थालिएको मन्त्री अथकले बताए ।
‘मैले उहाँ (अलमुताइरी)सँग सिधै हटलाईनमा कुरा गरेको छु’, मन्त्री अथकले भने, ‘उहाँलाई पुन: नेपाल फर्काउन मन्त्रालयले हरसम्भव प्रयास गरीरहेको छ । अलमुताइरीकै प्रशिक्षणमा नेपाल पहिलो पटक साफ च्याम्पियनसिपको फाईनलमा पुगेको तर्फ ईगित गर्दै अन्त्री अथकले अझैं केही समय नेपाललाई अलमुताइरीको आवश्यकता महशुस भएको बताए ।
साथै आज राती हुन भईरहेको साफ च्याम्पियनसिपको फाईनल खेलकालागि मन्त्री अथकले नेपाली फुटबल टिमलाई शुभकामना समेत दिएका छन । साफ च्याम्पियनसिपको बलियो टोली भारत र नेपालबीचको फाइनल खेल आज राति पौने नौ बजे मालदिभ्सको राजधानी मालेमा हुँदैछ ।
प्रेस सेन्टर नेपाल बाँकेका अध्यक्ष डक्ट धितालको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा बाँकेका क्रियाशिल पत्रकारहरुले खेलकुद तथा यस क्षेत्रको समग्र विकासकालागि क्रियाशिल अथकलाई सुझाव दिएका थिए । पत्रकारहरुको सुझाव ग्रहण गर्दै मन्त्री अथकले बाँके जिल्लाबासी सबै अनौपचारीक रुपमा आफ्नो सल्लाहकार भएको उल्लेख गर्दै जिल्लाबासीको शिर उचो हुने गरी जिम्मेवारी बहन गर्ने प्रतिवद्धता जनाएका छन ।
३० आश्विन २०७८, शनिबार १९:३१ प्रकाशित