पश्चिम नेपालको मुख्य धार्मिक स्थल वागेश्वरी मन्दिर परिसरमा पत्रकारमाथी भएको दुर्ब्यबहार प्रति पत्रकार महासंघ बाँके शाखाले गम्भीर आपत्ति जनाएको छ । सोमबार एक विज्ञप्ती जारी गर्दै महासंघले समाचार संकलनकालागि मन्दिर परिसरमा पुगेका पत्रकारद्धवय जे. पाण्डे र सबिता जिसीलाई मन्दिरका मुख्य महन्त चन्दननाथ योगीले गरेको दुर्ब्यबहारको निन्दा गरेको हो ।
महासंघका सचिव कमल डाँगीद्धारा जारी विज्ञप्तीमार्फत संचारमाध्यम मार्फत नागरीकको सुसुचित हुन पाउने संवैधानिक अधिकारको हनन् नगर्न समेत चेतावनी दिईएको छ ।
घटना यसरी भएको थियो
नेपालगन्जको प्रसिद्ध बागेश्वरी मन्दिरमा दशैंको चहलपहल र शक्ति पिठको रिपोर्ट बनाउन गएका पत्रकार जीवन पाण्डे (जे. पाण्डे) माथी सोमबार बिहान दुर्ब्यबहार भएको गरीएको थियो । बागेश्वरी मन्दिरबाट लाईभ प्रशारणको तयारीमा रहेका कान्तिपुर टेलिभिजनका लुम्बिनी प्रदेश प्रमुख पाण्डे तथा सोही संचारमाध्यममा आवद्ध सबिता जिसीलाई मन्दिरका मुल महन्त चन्दननाथ योगीले दुर्व्यवहार गरेका थिए ।
मन्दिर परिषरमा पुजाआजा गर्न आएका भक्तजनहरुसँग टिभी रिपोर्टका लागि कुराकानी गर्ने क्रममा पत्रकार पाण्डे र जीसीमाथि पुजारी योगीसहित अन्य ५ जनाको समूहले आक्रमण गर्न खोजेको पीडित पत्रकार पाण्डेले बताएका छन् । पुजारीहरुको समूहले आक्रमणको प्रयास गर्दै पाण्डेको क्यामेरा फुटाउन खोज्नुका साथै क्यामेराको तार समेत चुडाउन खोजेका थिए । महन्तको निर्देशनमा आक्रमणमा उत्रिएका पुजारीहरुबाट मन्दिरमा दर्शन गर्न पुगेका दर्शनार्थीहरुले पत्रकारलाई जोगाएका थिए ।
बागेश्वरीका मुल महन्त योगीले पत्रकारमाथी गरेको दुर्ब्यबहार भने यो पहिलो नभएको पत्रकार पाण्डेले बताए । यसअघि पनि पत्रकार शरण कर्माचार्य र तिलक गाँउले माथि मुल महन्त योगीले दुर्ब्यबहार गर्दै आक्रमणको प्रयास गरीसकेका छन ।
बागेश्वरी मन्दिर परिसरमा मुल महन्तले आफू खुशी फोटो खिच्न, पत्रकारलाई समाचार बनाउन प्रतिबन्ध लगाइएको बोर्ड लगाएपनी मन्दिर गुठि व्यवस्थापन समितिले मन्दिर परिषरमा फोटो खिच्न, भिडिओ बनाउन, पत्रकारलाई समाचार बनाउन प्रतिबन्ध लगाउने कुनै निर्णय नगरेको गुठी समितिका संयोजक एवं नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा. धवल शम्सेर राणाले बताए ।
बागेश्वरी मन्दिरको जग्गा अनियमितता प्रकरणमा मुछिएपछि मुल महन्त योगी विगत केही वर्षदेखि पत्रकारसँग रुष्ट बनेका छन् ।
२५ आश्विन २०७८, सोमबार १४:३५ प्रकाशित