चर्को आलोचना पछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्रबहादुर हमाल पदबाट हटेका छन् । उनले आइतबार प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको राजीनामा स्वीकृत भइसकेको छ ।
शुक्रबार दिउँसो मन्त्री नियुक्त भएका हमालले सोही दिन साँझ साढे ७ बजे मन्त्रालयमा पुगेर पदभार ग्रहण गरेका थिए । दिनको हिसाबले तीन दिने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री भएका हमाल घण्टाको हिसाबले भने मन्त्री पदमा ४० घण्टा हारहारी मात्रै रहे ।
उद्योग मन्त्रालयको इतिहासमा जम्मा एउटा मात्र निर्णयपछि पद गएका एकमात्र मन्त्री हमाल भएको सो मन्त्रालयका अधिकारीहरु बताउँछन् ।
शुक्रबार राष्ट्रपति कार्यालयमा पद तथा गोपनियताको शपथ पछि छोटो मन्त्रिपरिषद् बैठकमा सहभागी भएर साँझ साढे ७ बजे पदभार ग्रहणका लागि हमाल मन्त्रालय पुगेका थिए । मन्त्रालयका दुई जना सचिव, महाशाखा प्रमुखहरु, विभागीय प्रमुखहरु तथा मातहतका कार्यालयका प्रमुखहरुले उनको स्वागत गरेका थिए ।
पदभार ग्रहण गर्दा उनले कोभिडका कारण नवीकरण गर्न छुटेका उद्योगहरुलाई म्याद थप गर्ने निर्णयमा हस्ताक्षर गरेको मन्त्रालयका वाणिज्यतर्फका सचिव दिनेश भट्टराईले जानकारी दिए । पदभार ग्रहणपछि आइतबारका लागि मन्त्रालयमा मन्त्रीको महाशाखागत ब्रिफिङ हुने जानकारी मन्त्रीलाई गराइएको थियो ।
शनिबार हमाल लगानी बोर्ड सदस्यको हैसियतमा बोर्डको ४८ औं बैठकमा सहभागी भएका थिए । मन्त्रालयले मातहतका सबै महाशाखाहरुलाई आइतबार ब्रिफिङका लागि सूचना पनि जारी गरेको थियो तर मन्त्री हमाल ब्रिफिङका लागि कार्यालय नआउँदै पदबाट बाहिरिए ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको ‘कोटा’बाट हमाललाई देउवाले मन्त्री बनाएको भन्दै चौतर्फी आलोचना भइरहेको थियो । देउवा निकट हमाल नाताले प्रधानन्यायाधीश जबराको जेठान हुन् ।
मन्त्री पदमा आफ्नो नियुक्तिलाई लिएर आमरुपमा प्रश्न उठेपछि नैतिकताको हिसाबले पनि पदमा बस्न उचित नहुने निष्कर्षमा पुगेकाले राजीनामा बुझाएको मन्त्री हमालले बताएका छन् ।
प्रधानमन्त्री निकट स्रोतका अनुसार राजीनामा बुझाउँदै हमालले भनेका छन्, ‘संविधान र कानूनी राज्यका पक्षमा लामो लडाइँ लड्दै आएको व्यक्ति भएकाले अहिले संविधानमाथि नै सार्वजनिक रूपमा प्रश्न उठ्दा पदमा बसिरहन उपयुक्त लागेन ।’
५ पुस २०७७ मा पहिलो पटक संसद विघटन भएपछि संवैधानिक परिषद्ले गर्ने नियुक्तिहरुमा भागबण्डा लिएका जबराले दोस्रो विघटनपछि हमाललाई मन्त्री बनाउन तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका थिए । सर्वोच्च अदालतको २८ असारको आदेशअनुसार २९ असारमा देउवा प्रधानमन्त्री बनेपछि जबराले दुई मन्त्री मागेका थिए । सत्तारुढ दलका नेताहरुका अनुसार उनले वन तथा वातावरण र उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मागेका थिए ।
उद्योगमन्त्री हमालद्वारा राजीनामा दिने घोषणा
२४ आश्विन २०७८, आईतवार १२:३१ प्रकाशित