बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नं. ९ ढकेरीमा शुक्रबार गौशालाको शिलान्यास गरिएको छ । गौशालाको राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष लाहुराम थारू र उपाध्यक्ष धनी कुमारी खत्रीले संयुक्त रूपमा शिलान्यास गरेका हुन । बैङ्कटेश्वर गौशाला व्यवस्थापन समितीको आयोजनामा झिझिरी खोला किनारमा रहेको खाली जमिनमा गौशालाको शिलान्यास गरिएको छ ।
कार्यक्रममा बोल्दै अध्यक्ष थारुले ढकेरीमा बनाउन लागीएको गौशालालाई आवश्यक पर्न सहयोग गर्न गाउँपालिका तयार भएको बताए ।
कार्यक्रम बोल्दै बैङ्कटेश्वर गौशाला व्यवस्थापन समितीका अध्यक्ष पुर्षोतम पौडेलले आफुले गाइहरुको व्यवस्थापन गरिरहेको र स्थानीय सरकारको सहकार्यमा गाइहरुलाइ व्यवस्थापन गर्न गौशाला निर्माण गर्न लागीएको बताए । अहिले गौशालामा करिब ६० वटा गाइहरु रहेका र बाँकी छाडा गाइहरु लाई गौशालामा व्यवस्थापन गर्ने तयारी गरिएको उनले बताए।
गौशालामा पहिलो चरणमा ग्वाला (गाईको रेखदेख गर्ने व्यक्ति)हरु बस्नलाई दुई कोठे पक्की भवन निर्माण गरिने भएको छ । सामाजसेवी श्रीधर उपाध्यक्षले सडकमा रहेका छाडा गाई गोरुले स्थानीयको बालीनाली खाइदिने र गाडीहरुले गौमातालाई किच्ने गरेका कारण उनीहरूको सुरक्षा लागि गौशाला निर्माण गर्न लागीएको बताए । ‘अहिले ६० बाइ ३५ मिटरको पक्की पिलर सहितको गौशला बनाउने योजना बनाएका छौं, सहयोग प्राप्त भएपछि ३० देखि ४० लाखको संरचना निर्माण हुन्छ’ उनले भने ।
२२ आश्विन २०७८, शुक्रबार १९:१४ प्रकाशित