विश्वमा धेरै पैसा कसले कमाउला ? पक्कै पनि एलन मस्क, क्रिस प्राट्स वा किम कार्दासियन्समध्ये कोही हुन सक्छन्, हामीले छिट्टै अनुमान यही गर्छौँ । तर सत्ता हाँकिरहेका नेताहरुले पनि व्यापक पैसा कमाउँछन् । आज हामी धेरै पैसा कमाउने ११ सरकार प्रमुखको चर्चा गर्दैछौं ।
१०) फुमियो किशिदा
किशिदा जापानका नयाँ प्रधानमन्त्री हुन् । उनको तलब दुई लाख ५५ हजार अमेरिकी डलर छ । उनी विश्वकै ठूलो ट्विनजेट बोइङ ७७७ ३००ईआरमा भ्रमणमा निस्किन्छन् ।
विमानमा प्रधानमन्त्री र उनका सहयोगीका लागि भीआईपी रुम र कार्यषेत्र छन् । त्यसमा १०६ बिजनेस क्लास सिट अतिथिहरुका लागि उपलब्ध छ । प्रधानमन्त्रीका लागि जापान सरकारले दुई बोइङ७७७ जेट उपलब्ध गराउँछ । एउटा मुख्य प्रयोग र अर्को ब्याकअपका लागि ।
९) अलेजेन्डर डि क्रु
क्रु बेल्जियमका प्रधानमन्त्री हुन् । उनले २ लाख ६७ हजार अमेरिकी डलर तलब खान्छन् । लामो यात्रामा निस्किँदा उनी एयरबस ए३२१ प्रयोग गर्छन् । यसबाहेक उनीसँग डासल्ट फाल्कोन ९०, एउटा इम्ब्रायर ईआरजे १३५ र दुई इम्ब्रायर ईआरजे १४५ पनि छ । बेल्जियमको राजपरिवारले पनि यी जहाज नै प्रयोग गर्छन् ।
८) जाभियर बेटेल
बेटेल लक्जेम्बर्गका प्रधानमन्त्री हुन् । उनको तलब २ लाख ७१ हजारदेखि ३ लाख ४० हजार अमेरिकी डलरसम्म छ । उनी विश्वभ्रमणमा निस्किँदा निजी सेस्ना ५५० साइटेसन२, लक्सएयरबाट चार्टर गरिएको एउटा लियरजेट ३५ए र ७३७-७०० विमान प्रयोग गर्छन् । उनी लक्जेम्बर्गका पहिलो र युरोपका तेस्रो गे (समलिंगी) प्रधानमन्त्री हुन् ।
७) जसिन्डा आर्डेन
आर्डेन न्युजिल्यान्डकी प्रधानमन्त्री हुन् । उनी वर्षमा ३ लाख २४ हजार अमेरिकी डलर तलब खान्छिन् । प्रधानमन्त्रीको कार्यकाल खाँदै गर्दा आमा समेत बनेकी थिइन् । यसअघि पाकिस्तानी तत्कालीन प्रधानमन्त्री बेनजिर भुट्टोले पनि प्रधानमन्त्री रहेकै बेला सन्तान जन्माएकी थिइन् ।
सन् २०१९ मा १५ महिलालाई फिचर गर्दा बेलायती चर्चित म्यागजिन भोगमा आर्डेन पनि एक थिइन् । महामारीका बेला आर्डेनले न्युजिल्यान्डका तलब गुमाएका वा कटौतीमा परेका ५ लाख नागरिकको पक्षमा समर्थन जनाउँदै आफ्नो २० प्रतिशत तलब काटेकी थिइन् ।
६) सेबास्टियन कुर्ज
कुर्ज अस्ट्रियाका चान्सलर हुन् । उनको तलब ३ लाख २८ हजार ६ सय अमेरिकी डलर छ । अस्ट्रिया सरकारले भीआईपी ट्रान्सपोर्ट एयरक्राफ्ट कहिल्यै सञ्चालन नगरेको कारण अस्ट्रियाका प्रमुखले सामान्य तया तालिकाअनुसारको उडान गर्छन् । धेरैजसो राष्ट्रिय ध्वजावाहक विमान अस्ट्रियन एयरलाइन्स प्रयोग गर्छन् ।
तर आधिकारिक कामका लागि घरेलु यात्रामा निस्किँदा भने कुर्जलाई अस्ट्रियन एयरफोर्सको चार सिटे साब १०५ ओई चार्टर गर्न अनुमति छ । उनी ३५ वर्षमै सरकार प्रमुख बनेर चर्चा कमाएका थिए ।
उनी बेलाबखत हुने नराम्रा काण्डका कारण पनि चर्चामा आएका छन् । अहिले कुर्जले चान्सलरको रुपमा अस्ट्रियन नागरिकले औसतमा कमाउनेभन्दा छ गुणा धेरै आम्दानी गरिरहेका छन् ।
५) एंगेला म्यार्केल
म्यार्केल जर्मनीकी चान्सलर हुन् । उनी वार्षिक ३ लाख ६९ हजार ७ सय अमेरिकी डलर तलब लिन्छिन् । म्यार्केल एयरबस ए३४०-३१३एक्स भीआईपी विमानमा यात्रा गर्छिन् । तर उनीसँग जर्मन आर्म्ड फोर्सका महंगा विमानमा समेत पहुँच छ । उनी सन् २००५ मा जर्मनीको पहिलो चान्सलर बनेकी थिइन् । यो उनको चौथो र अन्तिम कार्यकाल हो ।
भर्खरैको चुनावमा उनको पार्टीले पराजय भोगेको थियो । उनलाई विश्वकै प्रभावशाली महिला नेत्री मानिन्छ । सत्तामा रहँदा नै उनले धेरै सम्पत्ति आर्जन गर्न सफल भएकी छिन् । उनले औसत जर्मन नागरिकले कमाउनेभन्दा आठ गुणा धेरै कमाउँछिन् ।
४) स्कट मोरिसन
मोरिसन अस्ट्रेलियाका प्रधानमन्त्री हुन् । उनको वार्षिक तलब ३ लाख ९५ हजार ५ सय अमेरिकी डलर छ । उनी दुई भव्य सरकारी महलमा बस्न पाउँछन् ।
उनी मुख्यगरी द लज भन्नेमा बस्छन् भने सिडनी हार्बरमा रहेको दोस्रो किरिबिल्ली हाउसमा पनि बस्छन् । उनी अस्ट्रेलियाका ३०औँ प्रधानमन्त्री हुन् । उनले अस्ट्रेलियाको औसत तलबभन्दा छ गुणा धेरै कमाउँछन् । जलवायु परिवर्तनको मुद्दामा उनले आलोचना खेप्दै आएका छन् ।
३) जो बाइडेन
संयुक्त राज्य अमेरिकाका राष्ट्रपति हुन् जो बाइडेन । उनको वार्षिक तलब नै ४ लाख अमेरिकी डलर छ । अमेरिकी राष्ट्रपति निवास ह्वाइटहाउस छ तलाको छ भने यसमा १३२ कोठाहरु छन् ।
यसबाहेक बाइडेनले विश्वप्रसिद्ध एयरफोर्स वान प्रयोग गर्छन् । यो विमानमा चार हजार वर्गफिटको तीन तला त छँदै छ, त्यसभित्रै मेडिकल रुमको व्यवस्था छ जहाँ आकस्मिक शल्यक्रिया गर्न सकिन्छ । राष्ट्रपतिका लागि प्राइभेट सुइट्स र किचेन पनि यसभित्रै छ ।
जहाँ एकैपटक सय जनालाई खाना खुवाउन सकिन्छ । यसलाई विश्वकै उच्च क्षमता र विलासी विमानका रुपमा लिइन्छ । वार्षिक ४ लाख डलर राम्रो तलब हुँदा-हुँदै अमेरिकी राष्ट्रपतिहरुले कार्यकालपछिका परियोजनाहरुबाट बढी पैसा कमाउँछन् ।
२) क्यारी लाम
हङकङकी यी प्रमुख कार्यकारीको तलब कति होला ? उनको तलब अमेरिकी राष्ट्रपतिको भन्दा पनि धेरै छ । अर्थात् उनी वार्षिक ६ लाख ७२ हजार अमेरिकी डलर तलब बुझ्छिन् । उनी लेक्सस एलएस६००एच एल हाइब्रिड कारमा हुइँकिन्छिन् । कहिलेकाहीँ सन् १९९७ मर्सिडिज बेन्ज एस५००एल पनि चढ्छिन् । तर उनको सवारीसाधनमा नम्बर प्लेट हुँदैन ।
यसरी हिँड्दा उनी बेलायती राजपरिवारको प्रतिनिधिको छनक देखिन्छ । हङकङकी पहिलो महिला नेत्रीलाई ‘टफ फाइटर’को उपनामले पनि चिनिन्छ । राजनीतिक मुद्दामा कहिल्यै पछि नहट्ने उनलाई निडर नेत्री मानिन्छ । सन् २०१७ मा प्रमुख कार्यकारी बनेयता उनको तलबमान १२.४ प्रतिशतले बढेको छ ।
उनी सबै प्रयोजनमा नोट पैसा नै प्रयोग गर्छिन् । उनको घरमै धेरै क्यास (नोट) राख्छिन् । उनीसँग बैंक खातै छैन ।
१) ली सिन लुङ
ली सिंगापुरका प्रधानमन्त्री हुन् । उनी वार्षिक रुपमै १६ लाख अमेरिकी डलर बुझ्छन् । उनी ४३ हेक्टर (१०६ एकड) जमिनमा बनेको भव्य द इस्ताना कार्यालयमा काम गर्छन् ।
यो मलाया शैलीमा निर्माण भएको छ । तीनतले भवनले २१ सरकारी कार्यकाल र आठपटक राष्ट्रपतीय कार्यकालको सेवा गरेको छ । उनको तलब तौलिने हो भने रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको भन्दा १२ गुणा धेरै हो ।
२० आश्विन २०७८, बुधबार १६:२१ प्रकाशित