गृह मन्त्रालयले ‘द भ्वाइस अफ नेपाल’का विजेता किरण गजमेरलाई नेपाल प्रवेशमा रोक लगाएको छ । उनी अमेरिकी नागरिक हुन् । एक पटकको प्रवेशाज्ञा (भीसा) प्राप्त अमेरिकी नागरिकहरुले १ सय ८० दिन मात्र नेपाल बस्न पाउँछन् ।
गजमेरले नेपाल बस्न पाउने अवधि गुजारी सकेकाले अध्यागमनले उनलाई नेपाल प्रवेशमा रोक लगाएको हो । गजमेर सन् २०२१ भर नेपाल आउन पाउँदैनन् उनले सन् २०२१ मा नेपाल बस्न पाउने अवधि गुजारिसकेका छन् ।
अब गजमेर सन् २०२२ मा मात्र नेपाल प्रवेश गर्न पाउनेछन् । गत सोमबार (असोज ११ गते) कतार एयरको क्युआर ६५० नम्बरको उडानबाट नेपाल आएका थिए । सोही दिन त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयले त्यहीबाट उनलाई अमेरिका फिर्ता पठाइदिएको थियो ।
‘द भ्वाइस अफ नेपाल’ को तेस्रो संस्करणमा गजमेरलाई दर्शकहरुले सर्वाधिक रुचाएका थिए । भुटानबाट विस्थापित भएपछि गजमेर परिवारसहित झापाको शरणार्थी शिविरमा बस्दै आएका थिए । संयुक्त राष्ट्रसंघले भुटानी शरणार्थीका लागि तेस्रो मुलुक पुर्नवास कार्यक्रम सुरु गरेपछि गजमेर अमेरिका गएका थिए ।
सन् २००६ बाट राष्ट्रसंघले भुटानी शरणार्थीलाई अमेरिकामा पुर्नवास गराउन थालेको थियो । गजमेर सन् २०११ मा परिवारसहित अमेरिका गएका हुन । त्यसपछि उनले अमेरिकाको राहदानी प्रयोग गर्दै आएका छन् । गजमेर प्रतिभावान गायक हुन् । उनी समाजसेवामा समेत सक्रिय छन् ।
नेपाल र अमेरिकाबीच भीषा पारस्पारिकता भएपछि पर्यटन भीषामा दुवै देशका नागरिक एकअर्को मुलुकमा १८० दिन बस्न पाउँछन् । अमेरिकाबाहेकका अन्य मुलुकका नागरिकहरुले पर्यटक भीषामा १५० दिन मात्र नेपालमा बस्न पाउँछन् ।
१३ आश्विन २०७८, बुधबार १६:३४ प्रकाशित