नेपालमा कोभिड-१९ विरुद्धको खोपको तेस्रो चरणको क्लिनिकल ट्रायलमा सहभागी हुनेको दर्ता प्रक्रिया शुरु भएको छ । इन्टरनेशनल भ्याक्सिन इन्स्टिच्यूट (आईभीआई)ले नेपालमा सानोफी र जीएसकेको खोपको तेस्रो चरणको क्लिनिकल ट्रायल गर्न लागेको हो ।
सानोफी र जीएसके खोपको तेस्रो चरणको क्लिनिकल ट्रायलका लागि अनुमति पाएसँगै ट्रायलमा सहभागी हुनेको नाम संकलन प्रक्रिया अगाडि बढाइएको आईभीआईले बताएको छ ।
आईभीआईले सुरक्षित, प्रभावकारी र प्रतिरक्षा मूल्यांकनका लागि ४ हजार स्वयंसेवकमा विभिन्न तीन स्थानबाट खोपको तेस्रो चरणको परीक्षण गर्नेछ ।
आईभीआईले परीक्षणका साथै नेपालमा खोप अध्ययन तथा विकासका लागि क्षमता र पूर्वाधार विकासमा पनि सहयोग गर्नेछ ।
सानोफी पास्चर भारत र दक्षिण एसियाका कन्ट्री हेड अन्नपूर्ण दासले भनिन्, ‘अन्तर्राष्ट्रिय खोप संस्थासँगको साझेदारीमा सानोफी पास्चरले नेपालमा तेस्रो चरणको क्लिनिकल ट्रायलमा भाग लिइरहेको छ । अहिले ट्रायलमा सहभागी हुने व्यक्तिहरुको नाम संकलनको काम भइरहेको छ ।’
उनी थप्छिन्, ‘अहिले कोरोना संक्रमण बढीरहेको अवस्थामा आगामी दिनमा हाम्रो खोप विकास कार्यक्रमलाई पनि सोही अनुसार बढाउनुपर्ने हुन सक्छ । हाम्रो कोरोनाविरुद्धको खोपले महामारी नियन्त्रणमा महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ भन्ने विश्वास छ ।’
आईभीआईका सहायक महानिर्देशक डा. अन्ह वार्टेलका अनुसार कोरोना महामारी अन्त्यका लागि नयाँ भेरियन्टसहित भाइरसमा प्रयोग गरिएको नयाँ खोप आविष्कारको जरुरी छ । हामी यो खोपको तेस्रो चरणको क्लिनिकल ट्रायल नेपालमा गर्न पाउँदा खुसी छौं ।’
१२ आश्विन २०७८, मंगलवार १५:५३ प्रकाशित