संविधान दिवसको अवसरमा नेपाल सरकारले देशभरका ९ सय तिन जनालाई विभिन्न मानपदवी, अलंकार र विभूषणबाट सम्मान गर्ने घोषणा गरेको छ । उक्त सुचीमा बाँकेका ८ जना परेका छन् । ८ जनामध्ये ४ जना स्वास्थ्यकर्मी एवं चिकित्सक, २ जना राजनीतिकर्मी र २ समाजसेवी छन् ।
यि हुन बाँकेबाट विभुषित हुने ब्यक्तिहरु :
तिलक परियार :
राजनीतिकर्मी एवं प्रदेश २ का पूर्व प्रदेशप्रमुख तिलक परियारलाई ‘प्रसिद्ध प्रबल जनसेवा श्री’ पदकबाट सम्मान गरिने भएको छ ।
तत्कालीन एकीकृत नेकपा माओवादीको तर्फबाट प्रत्यक्ष निर्वाचन प्रणालीअन्तर्गत बाँके क्षेत्र नम्बर १ बाट विजयी संविधानसभा सदस्य तिलक परियार रोल्पा लिबाङमा जन्मिएका थिए । परियार माओवादी निकट दलित मुक्तिमोर्चाका केन्द्रीय अध्यक्ष तथा माओवादीका केन्द्रीय सल्लाहकार समेत थिए ।
स्नातक तहसम्मको औपचारिक अध्ययन गरेका परियारले लामो समय भारतमा बसेर पनि पार्टीको काम गरे । भारतबाट नेपाल आएपछि बाँकेमै बसाईंसराईं गरेका परियार जनयुद्धको बेला बाँके वरपर नै खटिएका थिए । परियार २०६३ पछिको अन्तरिम व्यवस्थापिकाको सदस्य समेत थिए ।
स्व. कृष्णसिंह परियार :
गत असार १४ गते निधन भएका पूर्वसांसद एवं नेपाली काँग्रेसका नेता कृष्णसिंह परियारलाई ‘सुुकीर्तिमय राष्ट्रदीप’ पदकबाट मरणोपरनान्त सम्मान गरिने भएको छ । परियार वि.सं. २०४८ को संसदीय निर्वाचनमा बाँके क्षेत्र नम्बर ३ बाट निर्वाचित भएका थिए । त्यसपछि उनी राज्यव्यवस्था समितिको सभापति समेत भएका थिए ।
उनी पूर्वप्रधानमन्त्री सुशील कोइरालाको निकट रहेर प्रजातान्त्रिक आन्दोलनमा होमिएका थिए । बिपीको प्रजातान्त्रिक समाजवादप्रति प्रतिबद्ध नेता परियार पञ्चायती व्यवस्थाको विरुद्धमा संघर्ष गर्दा जेल समेत परेका थिए ।
दामोदर आचार्य :
नेपालगन्जमा प्रतिष्ठित व्यवसायी दामोदर आचार्य नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रिय सदस्य हुन् । उनलाई ‘प्रबल जनसेवाश्री’ पदकले सम्मान गरिने भएको छ । पछिल्लो समय आचार्य व्यवसायसँगै मूलधारको राजनीतिमा पनि सक्रिय छन् ।
उनले गत स्थानीय तहको निर्वाचनमा नेपालगन्ज उप-महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिएका छन । उनि झिनो मतान्तरले पराजित भएका थिए । हाल उनी राजनीतिक र सामाजिक क्षेत्रमा सक्रिय छन् ।
डा. राजन पाण्डे :
भेरी अस्पतालका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा. राजन पाण्डेलाई ‘सुप्रवल जनसेवा श्री’ पदकबाट विभूषित गरिने भएको छ । पाण्डेले सिकलसेल एनिमिया रोगको खोज अनुसन्धान र उपचारमा महत्वपूर्ण भुमिका निभाएका छन् । उनले कोभिड महामारी नियन्त्रणमा अस्पतालमा रहेर गरेको सेवाको प्रशंसा हुने गरेको छ । यसअघि डा. पाण्डेलाई २०७३ सालमा प्रबल जनसेवाश्री पदक प्रदान गरिएको थियो ।
धीरजंग शाह :
स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धिरजंग शाहलाई ‘प्रवल जनसेवाश्री’ बाट विभूषित गरिने भएको छ । वरिष्ट जनस्वास्थ्य प्रशासक शाहले कोरोना महामारीमा सबैभन्दा बढी प्रभावित बाँकेमा स्वास्थ्य सेवा व्यवस्थापनमा उल्लेखनीय भूमिका खेलेका थिए ।
प्रशन्न मिश्र :
प्रशन्न मिश्र भेरी अस्पताल नेपालगन्जका वरिष्ठ ल्याब टेक्निसियन हुन् । उनले कोभिड-१९ का बेला अस्पतालमा प्रयोगशाला व्यवस्थापनमा महत्वपूर्ण भूमिका खेलेका थिए । मिश्रले सरकारबाट ‘जनसेवाश्री’ पदक पाउने भएका छन् ।
सुनिता सहकारी
भेरी अस्पताल कोभिड वार्डमा कार्यरत स्टाफ नर्स सुनिता सहकारी पनि ‘जनसेवाश्री’ पदकबाट विभूषित हुने भएकी छन् । सहकारीले श्रीमानको मृत्यु भएको शोककै बेला पनि भेरी अस्पतालको कोभिड वार्डमा खटिएर सेवा दिएकी थिइन् । सहकारी जननेता मदनकुमार भण्डारीको ७०औँ जन्मजयन्तीका अवसरमा एक लाख राशीको ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार’बाट समेत सम्मानित भएकी थिइन् ।
पुरमल बस्नेत
कोहलपुर निवासी कृषक पुरमल बस्नेतलाई ‘समाजसेवा रत्न’ले विभुषित गरिने भएको छ । बस्नेत रिटायर्ड सैनिक हुन् भने हाल उनी लोपोन्मुख पुत्का मौरीको संरक्षणमा लागेका छन् । उनले अत्यन्तै संवेदनशील तर मह र वातावरण दुवैका लागि अति लाभदायक पुत्का मौरीको संरक्षणका लागि सरकारलाई पनि झकझक्याउँदै आएका छन् । उनी साहित्यकार समेत हुन् ।
३ आश्विन २०७८, आईतवार १९:४७ प्रकाशित