२०७२ वैशाख १२ मा गोरखाको बारपाक केन्द्रबिन्दु बनाएर आएको शक्तिशाली भूकम्पले नेपालका केही जिल्ला मात्रै ध्वस्त पारेन । कुशल कलाकार सिताराम कट्टेल ‘धुर्मुस’ अनि कुञ्जना घिमिरे ‘सुन्तली’को कलाकारिता यात्रालाई पनि ध्वस्त पारिदियो ।
भूकम्प जाँदा अमेरिकामा थिए उनीहरू । अमेरिकाबाट स्वदेश फर्कँदा सहृदयी नेपालीले भूकम्पबाट दैनिक जीवन खल्बलिएको नेपालीको सहयोगका लागि दिएको केही रकम सँगै लिएर फर्किएका उनीहरूमा एकाएक समाजसेवाको रङ चढ्यो ।
भूकम्पबाट घरबारहीन बनेका र आफ्नै बलबुतामा पुन छानो ठड्याउन नसक्नेहरूका लागि एकीकृत बस्ती बनाउने योजना आयो दुवैको मनमा । धुर्मुस-सुन्तली एकीकृत बस्ती नाम दिएर गिरानचौरमा एकीकृत बस्ती बनाए । बस्ती निर्माणको चर्चा फैलियो । सहयोगीहरू बढ्न थाले ।
सहयोग रकम पनि आएको आयै, चर्चा पनि बढेको बढ्यै । पहरी बस्तीपछि महोत्तरीको बर्दिबासमा एकीकृत बस्ती बनाएका उनीहरूले रौतहटको सनतपुरमा नमुना एकीकृत बस्ती बनाए ।
उनीहरूको अधिकांश दाता गैर आवासीय नेपालीहरू थिए । उनीहरूसँगको सहकार्यमा चार वटा बस्ती बनाउन सफल भएका यी दुबैमा एकाएक ठुलै प्रोजेक्ट बनाउने महत्त्वाकाङ्क्षा पलायो । सरकारले समेत नआँटेको अन्तर्राष्ट्रियस्तरको रंगशाला । लागत तीन अर्ब माथि ।
छानो विहीनहरूका लागि छानो बनाइदिनु त पुण्यको काम भयो । सबैले उनीहरूको यो कामको प्रशंसा गरेका नै थिए । तर रङ्गशाला किन ?
अब चैँ गलत काममा हात हाले भनेर आलोचना भए पनि उनीहरू पछि फर्किएनन् । चार वटा बस्ती बनाउँदा आएको सहयोग देखेर हुनसक्छ उनीहरू हौसिए ।
कहिले बस्ती निर्माण भनेर त कहिले रङ्गशाला निर्माण भनेर हिँड्दा उनीहरूको कलाकारिता यात्रा ओझेल पर्दै थियो । बस्ती निर्माणमा आएको सहयोग र खर्च विवरणको पारदर्शीताबारे प्रश्नहरू उठिरहेकै थिए ।
अति महत्त्वाकाङ्क्षाले सहयोग उठाएर बनाउन अलि हम्मे पर्ने परियोजनामा हात हालेका उनीहरू सहयोग र सरकारी निकायबाट आएको ५४ करोड खर्च गरेपछि ‘१६ करोड ऋण लाग्यो, अब रङ्गशाला बनाउन सकिन्न’ भन्दै हिँडिरहेका छन् ।
कलाकारिताले जन्माएको महत्त्वाकाङ्क्षा
२०६१ तिर सुरु भएको दीपकराज गिरी र दिपाश्री निरौलाको हास्य टेलिश्रृङखला ‘तितो सत्य’ले दर्शक हँसाउन छाड्दै थियो । सधैँ एकै प्रकारको अभिनय र उस्तै व्यङ्ग्यले कार्यक्रम नाम झैँ तितो हुँदै गयो ।
त्यही बेला आइपुग्यो अर्को हास्य टेलिश्रृङखला, ‘मेरी बास्सै’।
तितो सत्य भन्दा झन्डै तिन वर्षपछि नेपाल टेलिभिजनबाट प्रसारणमा आएको ‘मेरी बास्सै’मा सुरुवाती चरण खासै जमेन । दमन रुपाखेतीको घिसेपिटे घर ज्वाइँको रोल नचलेपछि सिताराम कट्टेल र केदार घिमिरेले मेलो सम्हाले । यी दुइको सहकार्य दर्शकले मन पराए ।
‘मेरी बास्सैले’ ‘तितो सत्य’लाई टक्कर दिन थाल्यो । केही समय दुवैको चर्चा बराबर भयो । बिस्तारै ‘तितो सत्य’ थाक्दै गयो, ‘मेरी बास्सै’ले आफ्नो गति बढाउन थाल्यो ।
‘तितो सत्य’ले सहरको कथा भनिरहँदा, ‘मेरी बास्सै’ले गाउँको कथा भन्यो । अन्ततः तितो सत्यलाई पराजित गर्दै नेपाल टेलिभिजनमा सबैभन्दा चर्चित बन्न पुग्यो हास्य टेलिश्रृङखला ‘मेरी बास्सै’ ।
हास्य शृङ्खलासँगै पात्रहरू पनि जम्न थाले । ‘दारी बा’, ‘मुला साग’, ‘चम्सुरी’, ‘राजु माड्साप’, ‘बान्द्रे’, ‘बल्छी धुर्बे’, ‘इकु’ लगायतका पात्रहरू अहिले पनि ‘मेरी बास्सै’कै कामले बाँचिरहेका छन् ।
‘मेरी बास्सै’ बाट केदार घिमिरेले ‘माग्ने बुढा’को चरित्रलाई स्थापित गरे । यता सिताराम कट्टेल र कुञ्जना घिमिरेका लागि पनि ‘मेरी बास्सै’ वरदान बनेर आयो । टेलिश्रृंखलामा श्रीमान्–श्रीमतीको अभिनय गर्दागर्दै दुवैको मन साटियो र वास्तविक जीवनमा पनि श्रीमान्–श्रीमती भए ।
धुर्मुस र सुन्तली अहिले पनि ‘मेरी बास्सै’कै चरित्रमा चलिरहेका छन् । समाजसेवा गर्न बनाइएको फाउन्डेसनको नाम ‘धुर्मुस–सुन्तली’कै नामबाट राखे । समाजसेवातिर लाग्दा कलाकारिताबाट बनेको छवि भने बिस्तारै विवादतिर लम्किरहेको थियो । उनीहरूले यो भेउ नपाएका हैनन् । तर नेपालीको मन बहकिइहाल्छ नि भनेर भेउ नपाएझैँ गरिरहे ।
अन्तमा न ‘धुर्मुस-सुन्तली’ पर्दामा जम्न सके न रङ्गशालाको मैदानमा ।
भूकम्प अघि नेपाल सरकारले धुर्मुस र सुन्तलीलाई सरसफाइ दूतमा नियुक्त गरेको थियो । धुर्मुस-सुन्तली सरसफाइ दूतकै नाताले अमेरिका पुगेका थिए ।
तराइका मुसहर बस्तीमा सरसफाइ सम्बन्धी जनचेतना फैलाउने उनीहरूको जिम्मेवारी थियो । त्यही प्रोजेक्ट अन्तर्गत उनीहरूले ‘लोटे चर्पी’ र ‘मुन्नी’ नामका छोटो फिल्म बनाए पनि । यी दुबैमा धुर्मुस र सुन्तलीको अभिनय प्रशंसा लायक छ ।
सरसफाइ दूतको नाताले कार्यक्रम गर्न अमेरिका जाँदा नेपालमा भूकम्प गयो । त्यही समयमा एक व्यक्तिले लेखेको फेसबुक स्ट्याटस देखिन् ‘हामीलाई सरोकारवालाले हेरेन’ ।
उक्त स्ट्याटस देखेपछि सुन्तलीको मनमा लाग्यो रे, ‘कुरो सामाजिक सञ्जालमा पुगिसक्यो, आखिर कहाँ गए त कलाकार !’
कलाकार पनि यो देशको सचेत नागरिक हुन् भन्ने सोच आएसँगै उनीहरू नेपाल फर्किएर समाजसेवामा लागेको कुञ्जनाले बताउने गरेकी छिन् ।
एकीकृत बस्तीको साख जोखिममा
एकीकृत बस्ती बनाउन सक्रिय भएसम्म यी दुवैको कामको राम्रो प्रशंसा भएको थियो । आर्थिक पारदर्शितामा कमजोरी नदेखिएको हैन । तर काम प्रशंसनीय नै थियो ।
काम अनुसार उनीहरूको प्रशंसा पनि चुलियो नै । ‘धुर्मुस सुन्तली जस्ता महान् सामाजिक हस्तिहरू नेपालमा अरू पनि जन्मेको भए साँच्चिकै नेपाल स्वीजरल्याण्ड र सिंगापुर भन्दा अगाडी भइसक्ने थियो’ जस्ता प्रतिक्रिया आउन थाले ।
प्रशंसाले हौसिएर हो या अति आत्मविश्वासको कमाल । उनीहरूले एकाएक अति महत्त्वाकाङ्क्षी योजना घोषणा गरे जुन निर्माण सम्पन्न गर्न एकीकृत बस्तीको मोडलको आर्थिक सहयोगले मात्र सम्भव थिएन ।
छाना नभएकाहरूलाई छाना बनाउने अभियानले जसरी दाताको मन तानिनसक्छ त्यसरी क्रिकेट रङ्गशालाको योजनाले मन तान्न जोखिम थियो । भयो पनि त्यही । तीन अर्बको योजनाको सुरुवात देखि नै रङ्गशाला बनाउने जग्गादेखि धेरै विवादहरू आए । आर्थिकपक्षबारे प्रश्न उठे । तर उनीहरू रोकिएनन् ।
लकडाउनकै बिचमा रङ्गशाला निर्माणका लागि भन्दै यो जोडीले ‘सेन्टी भाइरस’ नामक फिल्म पनि बनायो । फिल्म बेकार थियो । रङ्गशाला निर्माणका लागि डोनेसन भयो भन्दै चित्त बुझाए दर्शकले ।
अन्तमा ५५ करोड खर्च भएर १६ करोड ऋण लागेपछि उनीहरू अहिले ‘ऋण लाग्यो’ भन्दै हारगुहार गर्दै छन् ।
किन असफल भयो यो जोडी ?
यो जोडिले यस अगाडि सम्पन्न गरेको काम हेर्ने हो भने पाँच करोड हाराहारीका काम छन् । उनीहरूको कुनै योजना पनि घाटामा गएको देखिन्न । बरु रकम जोगिएकै देखिन्छ ।
एकीकृत नमुना सन्तपुर बस्ती बनाउँदा पाँच करोड ९५ लाख सहयोग उठाएर पाँच करोड ५४ लाख खर्च गरे । एकीकृत नमुना मुसहर बस्ती बनाउँदा ७ करोड ६३ लाख सहयोग उठ्दा पाँच करोड ४ लाखमा काम सकियो ।
गिरानचौर एकीकृत नमुना बस्तीका लागि ६ करोड १८ लाख सङ्कलन भएकोमा पाँच करोड १३ लाख खर्च भयो । एकीकृत नमुना पहरी बस्तीका लागि ६७ लाख २० हजार सहयोग उठेर त्यति नै खर्च भएको फाउन्डेसनमा उपलब्ध विवरणमा उल्लेख छ ।
रङ्गशालाको लागत भने तीन अर्ब हाराहारीको थियो । स्रोत सङ्कलनको मोडल नमुना बस्ती बनाउँदाकै देखियो । त्यही मोडलमा तीन अर्ब रकम सङ्कलन सम्भव थिएन । भएन । अनि करिब उस्तै खालका ११ वटा नमुना बस्ती बनाउन सकिने बजेट सक्दा पनि ३५ प्रतिशत मात्र काम सक्काएर ‘अब सकिएन’ भन्न बाध्य भए दुवै कलाकार ।
अब कता ?
रङ्गशाला बनाउने रकम अभाव भएपछि प्राय मिडियामा आइरहन्छन् यी जोडी । कहिले विद्यालयमा विद्यार्थीहरूबाट रकम सङ्कलन गर्ने योजना बनाउँदै आउँछन् त कहिले तीन अर्बको रङ्गशाला बनाउन सहयोग रकम जुटाउने भन्दै पानी पुरी बेच्न थाल्छन् ।
अहिले उनीहरू १६ करोड ऋण लाग्यो, अब फाउन्डेसनले रङ्गशाला बनाउन सक्दैन भन्दै मिडियामा आएका छन् । यो परियोजनाप्रति ध्यान तान्ने रणनीति हो या उनीहरूले परियोजना फाउन्डेसनबाट सरकारी निकायलाई हस्तान्तरण गर्ने तयारी त्यो भने खुलेको छैन ।
कलाकारितामा फर्किएलान् ?
अहिले चलेका नयाँ पुस्ताका हास्य कलाकार तथा सितारामका भाइ कुमार कट्टेल (जिग्री) आफ्नो दाइ र भाउजू लामो समय कलाकारिताबाट टाढा भएकाले कलाकारितामा फर्कने हो भने अब आफूलाई अपडेट गर्न जरुरी रहेको बताउँछन् ।
उनले आफू दाजु-भाउजूको अभिनयको जज गर्ने क्षमताको नभए पनि अब पुरानै लयले भने काम नचल्ने बताउँछन् ।
‘उहाँहरू जुन समय निकै पिकमा हुनुहुन्थ्यो, त्यही समयमा समाजसेवामा लाग्नुभयो । समाजसेवामा जति सफल हुनुभयो, यदि त्यही मेहनत कलाकारितालाई दिएको भए, यताको उचाइ निकै माथि पुग्थ्यो होला,’ उनले भने ।
जुन बेलामा फलाम तातेको थियो, त्यो समयमा ठोक्न नसकेको उनको बुझाई छ । कुमारले भने, ‘उहाँहरूसँग प्रतिभा छँदै छ बिस्तारै आफूलाई परिष्कृत गर्दै लैजानुहोला ।’
तर अब यी जोडी आफ्नो गल्ती स्विकार्दै कलाकारितामा फर्कन्छन् या रङ्गशाला पुरा गर्ने घिडघिडो बोकेर हिँड्छन् उनीहरूले खुलाएका छैनन् ।
सार्वजनिक भएका उनीहरूको अभिव्यक्ति हेर्दा यी दुवै लागेको १६ करोड ऋण सल्टाएर रङ्गशाला निर्माणको काम सरकारी निकायलाई हस्तान्तरण गर्ने मुडमा देखिन्छन् ।
कलाकार हुन् । मुड कतिखेर बदलिन्छ के थाहा ।
उकेराबाट
३ आश्विन २०७८, आईतवार १७:५७ प्रकाशित