पूर्वमुख्यमन्त्री पोखरेल विरुद्ध अपहरण तथा शरीर बन्धक सम्बन्धी उजूरी
  • काँचुली खबर

लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री शंकर पोखरेलसहित ४ जनाविरुद्ध अपहरण तथा शरीर बन्धक सम्बन्धी किटानी जाहेरी परेको छ । सांसद विमला कुमारी खत्रीले पूर्वमुख्यमन्त्री पोखरेलसहित ४ जनाविरुद्ध अपहरण तथा शरीर बन्धक सम्बन्धी किटानी जाहेरी दिएकी हुन् ।

साउन १५ गतेदेखि ५ दिनसम्म पोखरेल मुख्यमन्त्री रहँदा दाङबाट ल्याएर बन्धक बनाएकोले अपहरण तथा शरीर बन्धक सम्बन्धी कानूनअनुसार कारबाहीको माग गर्दै खत्रीले किटानी जाहेरी दिएकी हुन् ।

खत्रीले जाहेरीमा तत्कालीन मुख्यमन्त्री शंकर पोखरेल, एमाले प्रमुख सचेतक भूमिश्वर ढकाल, पोखरेलको सचिवालयका तिरण गौतम र एमाले दाङका नेता मानबहादुर रावतलाई हदैसम्मको कारबाहीको माग गरेकी छिन् ।

रुपन्देही प्रहरी प्रवक्ता सत्यनारायण थापाले खत्रीले बुटवलमा किटानी जाहेरीका लागि पत्र बुझाएको पुष्टि गरे । उनले जाहेरी दाङमा दर्ता गराउन सुझाव दिएको बताए । खत्री र माओवादी केन्द्रका प्रमुख सचेतक तुलाराम घर्तीले इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी मदन कुँवरलाई किटानी जाहेरी बुझाएका हुन् । उनले घटनाको शुरुवात भएको स्थान दाङमै उजुरी दर्ता गर्ने प्रतिवद्धतासहितको पत्र दिएका छन् । दाङ प्रहरी प्रवक्ता सुरेश काफ्लेले भने दाङमा उजुरी आइनपुगेको बताए ।

खत्रीले दिएको उजुरीअनुसार अदालतले कसुर ठहर गरेमा पोखरेलसहित ४ जनालाई ७ वर्षदेखि १० वर्षसम्म कैद र सत्तरी हजारदेखि १ लाख रुपैयाँसम्म जरिवाना हुनसक्ने व्यवस्था मुलुकी अपराध संहिता २०७४ ले व्यवस्था गरेको छ ।

लोकपाटीबाट

  • २९ भाद्र २०७८, मंगलवार २१:४१ प्रकाशित
  • Nabintech