‘….अनि लोकबहादुरले ६ जनाको हत्या गरे’
  • काँचुली खबर

संखुवासभाको मादी नगरपालिका १ उम्लिङमा एकै परिवारको ६ जनाको हत्यामा संलग्न आरोपीले हत्यालगत्तै दाउराको चिर्पट जलाएको खुलासा भएको छ । हत्यामा संलग्न आरोपी लोकबहादुर कार्कीले ६ जनाको हत्या गरेपछि हत्यामा प्रयोग भएको चिर्पट बालेको प्रहरीसमक्ष बयान दिएका छन् ।

आइतबार पत्रकार सम्मेलन गर्दै प्रहरीले यसबारे जानकारी गराएको हो । घटनाको अनुसन्धानमा खटिएका केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) का एक अधिकृतका अनुसार आरोपीले ६ जनालाई आक्रमण गरी घर गएलगत्तै हत्यामा प्रयोग भएको चिर्पट बालेका थिए । प्रमाण नष्ट गर्ने उद्देश्यका साथ चिर्पट बालेको पाइएको ती अधिकृतले बताए ।

यसरी भएको थियो हत्या

घटनामा संलग्न भनिएका आरोपी ३ पटक वैदेशिक रोजगारीमा पनि गएको तर लामो समय काम गर्न नसकी नेपाल फर्किएका थिए ।

घटनामा संलग्न आरोपीका अनुसार आफूलाई मृतक तेज बहादुरले पटकपटक गाली गर्ने गरेको, घरमा धेरै ऋण लागेको तर पैसा कमाउन नसकेको, जीवनदेखि हार मानेको र हीनताबोध भएको कारण तेजबहादुरप्रति रिस साँधी हत्या गरेको बताएका छन् ।

गत सोमबार बिहान ५५ वर्षीय तेजबहादुर कार्की, ५४ वर्षीया कमला भन्ने मनमाया कार्की, ३२ वर्षीया रञ्जना कार्की, ८ वर्षीय विपिन भन्ने दिपेन्द्र कार्की, ५ वर्षीया गोमा कार्की र ८४ वर्षीया पार्वता कार्कीको हत्या भएको थियो ।

उनीहरु ६ जनाकै हत्या भतिजा नाता पर्ने छिमेकी लोकबहादुरले गरेको निष्कर्षमा प्रहरी पुगेको हो ।

घटनाको दिन बिहानै तेजबहादुर लोकबहादुरको घरमा गएका थिए । घरबाट एक घण्टा टाढा रहेको मादी-३ स्थित पिप्लेमा रहेको खेतमा काम गर्नु थियो । तेजबहादुरले गाउँबाट खेताला लिएर जाँदै थिए ।

काम सघाउन लोकबहादुर र उनका भाइलाई पनि भनिएको थियो । सोमबार बिहानै तेजबहादुर खेतालाको टुंगो गर्न थाले ।

त्यही क्रममा उनी घर नजिकै रहेका लोकबहादुरलाई भेट्न गए । लोकबहादुरले आफू र भाइ आउने बचन दिएर काका तेजबहादुरलाई पठाए ।

उनका बुवा र भाइ घरमा थिएनन् । भाइले बिहानै गाईवस्तुका लागि खोले पकाए । चिया खाएर बुवा र भाइ दुवैजना घाँस काट्न गए ।

दुई भाइ खेताला आउने निश्चित भएपछि तेजबहादुर घर फर्किँदै थिए । उनै काका तेजबहादुर आफ्नो घरबाट अलिक पर पुगेपछि लोकबहादुर चिर्पट दाउरो बोकेर पछिपछि गए ।

‘आफूलाई पागल र काम गर्न नसकेको भन्दै गाली गरेको त्यतिबेला सम्झिएँ । दाउरो टिपेर पछ्याउँदै गएँ । बारीको डिलमा रहेको गोगनको बोटनजिकै प्रहार गरेँ, काका चिच्याउँदै ढले’, लोकबहादुरले प्रहरीसँग भनेका छन् ।

भिरालो ठाउँमा ढलेका तेजबहादुर लड्दै तल पुगे । तल पुगेपछि ‘लोकेले मलाई मार्यो’ भन्दै उठ्न खोजेका थिए ।

लोकबहादुर त्यतिबेला त्यहीँ पुगेर फेरि टाउकोमै प्रहार गरेर लडाए । त्यसपछि तेजबहादुर उठेनन् ।

तेजबहादुरले चिच्याएको उनको परिवारले मात्रै थाहा पाए । तेजबहादुरकी श्रीमती कमला घटनास्थलतर्फ जाँदै थिइन् ।

तर लोकबहादुर वरै आएर उनीमाथि पनि चिर्पट प्रहार गरे । टाउकोमा चिर्पट हानिएपछि उनी बाटोमुनि खोल्सामा झरिन् ।

उनीसँगै आएकी बुहारी रञ्जना भने सासु ढलेको देखेर बेहोस भइन् । बेहोस भएर ढलेकी रञ्जनालाई उठ्न खोज्दा खोज्दै टाउकोमै चिर्पट प्रहार गरे । पटक पटक टाउकोमा हानेर सासु ढलेकै खोल्सातिर खसालिदिए ।

हजुरबुबाको हारगुहार सुनेर दुई जना बच्चा पनि घर नजिकै बारीको डिलमा निस्किएका थिए । लोकबहादुर तीनजनाको हत्या गरेर त्यहाँ पुगे ।

र, उनीहरुमाथि पनि चिर्पट बजारे । दुई बालकको हत्या गरेपछि घर पुगेका लोकबहादुरले खोले पकाइरहेकी ८४ वर्षीया पार्वताको कपालमा समातेर भित्तामा टाउको ठोकाइदिए ।

पटक पटक टाउको ठोक्काइदिएपछि पार्पता पनि त्यही ढलिन् । त्यसपछि घर फर्किएका लोकबहादुरले त्यो चिर्पट आगोमा हालेर नष्ट गरे । मानसिक रोगी लोकबहादुर अघिल्लो रात सुतेका थिएनन् ।

‘अघिल्लो रात निद्रा नलागेर छटपटी भएर बसेको थिएँ । एक्लै घरमा भएका बेला काका आइपुगे । खेताला टुंगो गरेर फर्किँदै गर्दा मनमा उनीप्रति आक्रोश आएर यही हो मौका भन्दै हानेँ’, लोकबहादुरले प्रहरीसँग भनेका छन् ।

लोकबहादुर सन् २०१४ मा कतार गएका थिए । कमाइ राम्रो भएन। त्यसपछि २०१६ मा मलेसिया पुगे । तर स्वास्थ्यमा समस्या आएपछि काम गर्न नसकेर फर्किनु पर्यो ।

गएको केही महिनामै फर्किए । आफू जाँदाको ऋण पनि तिर्न सकेनन् । दोश्रो पटक २०१९ मा कतार पुग्दा पनि त्यस्तै भयो । काम गर्न सकेनन् र फर्किनु पर्यो ।

त्यसपछि घरमै बसेका उनको ब्यबहारले परिवार पनि आजित थिए । रिसको बेला घरमा बिगार गर्थे । बुबा र भाइलाई पनि हिर्काउँथे । उनी आवेशमा आएको बेला जे भेट्यो त्यसैले हान्थे । राति नसुत्ने, एक्लै हिँड्ने । घरमा प्रायः झगडा गरिरहन्थे ।

उनका बुबा काम कम सुन्छन् । बोलि लटपटिने छ । घरको आर्थिक अवस्था कमजोर छ । लोकबहादुरका बुबाको स्वास्थ्य पनि त्यस्तो भएकै कारण उनका हजुरबुबाले मर्ने बेलामा तेजबहादुरलाई घर रेखदेख गरिदिन भन्थे ।

घरका जेठा छोरा लोकबहादुरलाई अह्राउन अरुले सक्दैनथे । तेजबहादुरले नै अह्राइ कराइ गर्थे । बेला बेला उनी घरमै गएर सम्झाउँथे । घरमा झगडा भएको बेला पनि उनै पुगेर साम्य पार्थे । घरमा काम नगरेपछि किन नगरेको भन्दै गाली गर्थे । गाली गर्ने क्रममा उनले पागल, अल्छी तँ काम लाग्दैनस् भन्थे ।

यो कुराले आफूलाई पीडा दिएको लोकबहादुरले बताएका छन् । जुन कुरा आफूलाई लामो समयदेखि चित्त दुखिरहेकाले त्यो दिन पनि यही कारण हत्या गरेको लोकबहादुरले बताएका छन् ।

लोकबहादुरका हजुरबुबा बित्ने बेलामा दिएको जिम्मेवारी पूरा गर्ने क्रममा भतिजलाई गाली गरेका तेजबहादुरको अन्ततः त्यही कारण परिवारै सखाप भयो ।

  • २७ भाद्र २०७८, आईतवार १६:४१ प्रकाशित
  • Nabintech