दिर्घरोगीलाई मासिक ५ हजार भत्ता
  • काँचुली खबर

सरकारले क्यान्सर एवम् मिर्गौलाका गम्भीर रोग भएका र गम्भीर मेरूदण्ड पक्षघात भएका बिरामीलाई मासिक ५ हजार रुपैयाँ भत्ता दिने घोषणा गरेको छ । संसदमा बजेट अध्यादेशको प्रतिस्थापन विधेयक प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले यस्ता गम्भीर रोगका बिरामीलाई ५ हजार भत्ता उपलब्ध गराउने घोषणा गरेका हुन् ।

२०७४ को आम चुनावको मुखमा तत्कालीन शेरबहादुर देउवा सरकारले क्यान्सर एवं मिर्गौलाका गम्भीर रोग भएका र स्पाइनल इन्जुरी भएर प्यारालाइसिस भएकाहरुलाई जीविकोपार्जनका लागि मासिक ५ हजार रुपैयाँ भत्ता दिने निर्णय गरेको थियो ।

चुनावपछि आएको ओली सरकारले त्यसलाई खारेज गर्‍यो, जसका कारण जिल्ला स्वास्थ्य कार्यालय र सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीको स्वीकृति लिएर बिरामीको प्रमाणपत्र पाएकाहरुले पनि भत्ता पाएका थिएनन् ।

स्पाइनल इन्जुरी पीडित संघर्ष समितिले ओली सरकारको निर्णयविरुद्ध सडक आन्दोलन समेत गरेको थियो ।

अहिले आफैं प्रधानमन्त्री भएको समयमा कांग्रेस सभापति देउवाले यसलाई फेरि अघि बढाउने भएका छन् । सरकारी तथ्यांकअनुसार देउवा सरकारको पूर्ववत निर्णयअनुसार मासिक करिव एक लाखलाई भत्ता दिनुपर्छ ।

  • २५ भाद्र २०७८, शुक्रबार १६:४९ प्रकाशित
  • Nabintech