पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले नेपालमा एमसीसी कार्यान्वयन सभामुख र केही व्यक्तिहरूले रोकेको बताएका छन् ।
सम्झौता कार्यान्वयनबारे छलफल गर्न बालकोट पुगेकी एमसीसी कम्प्याक्ट अपरेशनकी उपाध्यक्ष फातिमा सुमार नेतृत्वको टोलीलाई ओलीले यस्तो बताएका हुन् ।
एमालेका विदेश विभाग प्रमुख राजन भट्टराईले जानकारी दिएअनुसार ओलीले आफूूहरू सरकारमा रहँदा अघिल्लो सरकारले गरेको सम्झौतालाई अघि बढाएको उल्लेख गरे ।
उनले भने, ‘पार्टीभित्रै रिजर्भेशन भएपनि हामीले अघि बढाउने कोशिश गरेका हौँ । सदनमा हामीले नै टेबल गरेका हौँ । सभामुख लगायत केही व्यक्तिहरूको भूमिकाका कारण त्यो अनुमोदन हुन सकेन ।’
अहिले आफूहरू प्रतिपक्षमा रहेको र भूमिका बदलिएको पनि ओलीले एमसीसी टोलीलाई बताए । विपक्षीमा हुँदा पनि सरकारमा हुँदा झैँ काम गर्न नमिल्ने भन्दै ओलीले हाल सत्तारुढ दलले अहिलेसम्म एमसीसीबारे कुनै नगरेको पनि जनाए । यो अवस्थालाई यही हिसाबले बुझिदिन ओलीले आग्रह गरे र भ्रमण सफलताको शुभकामना पनि दिए ।
एमसीसी मुख्यालयको टोलीले शिष्टाचार भेटका क्रममा मूलभूत रूपमा एमसीसी परियोजनाबारे रहेका विवाद र द्विविधाबारे बताएको थियो । नेपालको अवस्थालाई ध्यानमा राखेर अनुदानका रूपमा सहायता उपलब्ध गराउन खोजिएको र धेरै कुरा प्रष्ट पारेको टोलीको भनाइ थियो ।
नेपाल भ्रमणमा आएको एमसीसी मुख्यालयको टोलीले सबैभन्दा पहिले ओलीसँग भेट गरेको हो ।
२४ भाद्र २०७८, बिहीबार २०:०७ प्रकाशित