लुम्बिनी प्रदेशका ‘पर्यटन ग्रामिण तथा शहरी विकास’ मन्त्री डिल्लीबहादुर चौधरीले शनिबार बाँकेको पर्यटकीय क्षेत्रको स्थलगत निरीक्षण गरेका छन । शनिबार बाँके भएका मन्त्री चौधरीले जिल्लाको राप्तीसोनारी गाउँपालिका वडा नं. ३ मा रहेको प्रशिद्ध धार्मिक तिर्थस्थल भूवर भवानी मन्दिर क्षेत्रको निरीक्षण गरेका हुन ।
मन्दिर दर्शन गरिसकेपछि निरीक्षणका क्रममा मन्त्री चौधरीले भूवर भवानीलाई धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकास गरिने बताए । सो क्रममा बोल्दै मन्त्री चौधरीले राप्ती सोनारीको वडा नं. १ कुसुमदेखी वडा नं. २ अगैयासम्म र्याफ्टिङ सञ्चालन गर्न मन्त्रालयले आवश्यक कार्य अगाडी बढाउने आश्वासन दिए ।
‘कुसुमलाई पर्यटन क्षेत्रसँग जोड्ने हो भने राप्तीलाई प्रयोग गर्नुपर्छ, राप्तीलाई प्रयोग गर्दा यहाँबाट अगैयासम्म र्याफ्टिङ सुरु गर्ने हामीले घोषणा गरेका छौं,’ उनले भने ‘यसबाट यहाँका ब्यवसायीलाई ठुलो फाईदा पुग्नेछ र पश्चिम नेपालको कर्णालीपछिको पहिलो रयाफ्टिङ राप्ती नदीमा हुनेछ भन्ने मैले आशा गरेको छु ।’
यस्तै सिचाइँका लागि राप्ती नदीलाई जतिसक्दो उपयोग गरेर लिफ्ट सिचाइँ योजना लागु गर्न आवश्यक पहल गर्ने मन्त्री चौधरीले बताए । ‘मेरो मन्त्रालयले खासगरी तीन वटा कुरा हेर्छ, एउटा पर्यटन हेर्छ, शहर र गाउँको सडक तथा नाला र खानेपानीलाई हेर्छ,’ उनले भने ‘राप्ती सोनारी गाउँपालिकाको ‘एक घर, एक धारा’ नीति अनुसार प्रदेश सरकारले सहयोग गर्ने कुरा पनि यहाँहरु समक्ष राख्न चाहन्छु ।’
मन्त्रीलाई निरीक्षण गराईसकेपछि राप्ती सोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारुले प्रदेश सरकारबाट आफ्नो क्षेत्रको पर्यटन लगायत विकासका योजना पाउने आशा जागेको बताए । ‘मन्त्री ज्यूले हाम्रो गाउँपालिकामा रहेका पर्यटकीय क्षेत्र र विकास सम्बन्धी कुराको निरीक्षण गर्नुभएको छ, यसबाट हामी धेरै उत्साहित भएका छौं,’ उनले भने । प्रदेश सरकारसँगको समन्वय र सहकार्यमा गाउँपालिकाभित्र आवश्यक योजना सञ्चालन गरिने अध्यक्ष थारुले बताए ।
१९ भाद्र २०७८, शनिबार २१:३० प्रकाशित