एमाले प्रवक्ताबाट योगेश भट्टराई ‘आउट’
  • काँचुली खबर

नेकपा एमालेभित्र फेरि विवाद देखा परेको छ । एमाले प्रवक्ताबाट ‘तेस्रो धार’का नेता योगेश भट्टराईलाई हटाइएपछि पुनः विवाद देखा परेको हो । बिहीबार दार्चुलाको तुइन घटना प्रकरणमा एमालेको प्रवक्ताको हैसियतमा प्रदीप ज्ञवालीले जारी गरेका छन् । पार्टीका संरचना पुरानै अवस्थामा रहने आन्तरिक सहमतिअनुसार एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराई हुन् ।

एमालेमा प्रवक्ता भन्ने छुट्टै पद नभएकाले प्रचार विभाग प्रमुखले नै पार्टीका निर्णयबारे मिडियालाई जानकारी गराउने अनि सार्वजनिक चासोका विषयमा विज्ञप्ति निकाल्ने चलिआएको अभ्यास छ । यही आधारमा प्रचार विभाग प्रमुखलाई नै एमाले प्रवक्ता भन्ने गरिएको छ । तर, दार्चुला घटनाबारे ज्ञवालीले पार्टी प्रवक्ताको हैसियतमा प्रेस विज्ञप्ति निकालेसँगै एमालेमा यसअघि भएको आन्तरिक सहमतिको औचित्यलाई लिएर विभिन्न टिप्पणी हुन थालेको छ ।

२०७७ फागुन २३ मा सर्वोच्च अदालतको फैसलाबाट पार्टी पुनर्जीवित बनेपछि पार्टी अध्यक्ष केपी ओलीले एमाले प्रवक्ताको जिम्मेवारी ज्ञवालीलाई दिएका थिए । त्यसअघि तत्कालीन प्रधानमन्त्री केपी ओलीले पुस ५ मा प्रतिनिधिसभा विघटन गरेपछि तत्कालीन नेकपामा ओली निकट समूहको प्रवक्ताको जिम्मेवारी पनि ज्ञवालीलाई नै दिइएको थियो । त्यसयता ज्ञवालीले नै पार्टी प्रवक्ताका रूपमा काम गर्दै आएका थिए । १० बुँदे सहमति र भदौ ८ को स्थायी समिति बैठकको निर्णयअनुसार भट्टराईले पुरानो जिम्मेवारी ९प्रवक्ता० पाएको बताइएको थियो ।

पार्टीको आन्तरिक एकता जोगाउनभन्दै गत २७ असारमा एमाले दोस्रो पुस्ताका नेता र अध्यक्ष केपी ओलीबीच १० बुँदे सहमति भएको थियो । त्यसमा पार्टीका संरचना २ जेठ २०७५ कै अवस्थामा कायम रहने समझदारी थियो । ‘पार्टीका सबै तहका कमिटी, निकाय र जनसंगठनहरू नवौं राष्ट्रिय महाधिवेशनबाट पारित राजनीतिक कार्यदिशा र विधानको व्यवस्थाबमोजिम नेपाल कम्युनिस्ट पार्टी गठन हुनु पूर्व २०७५ साल जेठ २ को (जेठ ३ को केन्द्रीय कमिटीमा सदस्य मनोनयन गर्ने निर्णयसहित) संगठनात्मक अवस्थाबाट हुनेछन्,’ सहमतिमा भनिएको छ ।

१० बुँदे सहमतिलाई भदौ ८ मा बसेको स्थायी समिति बैठकले अनुमोदन गरेसँगै भट्टराई स्वतः एमाले प्रचार विभाग प्रमुखको हैसियतमा फर्किएका थिए । त्यति बेला स्थायी समिति बैठकका निर्णय सुनाउन आयोजित पत्रकार सम्मेलनमा भट्टराईले पार्टी पुरानै संरचनामा फर्किएको र आफूलाई प्रवक्ताको हैसियतमा प्रस्तुत गर्न खोजेका थिए । तर, ज्ञवालीले फेरि प्रवक्ताको हैसियतमा विज्ञप्ति जारी गरेपछि एमाले तेस्रो धार सशंकित बनेको छ ।

  • १८ भाद्र २०७८, शुक्रबार १२:२३ प्रकाशित
  • Nabintech