प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्र प्रतिनिधि सभामा तेस्रो ठूलो दल हो । संगठनका हिसाबले पनि माओवादी तेस्रो स्थितिमै देखिन्छ । तर, केन्द्र देखि देशभरको प्रभावलाई केलाउँदा प्रचण्ड पहिलो नम्बरमा छन् ।
केन्द्र सरकारमा अर्थ र ऊर्जा जस्ता महत्वपूर्ण मन्त्रालय माओवादीका छन् । सरकारमा प्रचण्डको प्रभाव बलियो भएको छ ।
७ प्रदेशमध्ये माओवादी नेतृत्वको सरकार ३ वटा प्रदेशमा छन् । कर्णाली र सुदूरपश्चिम प्रदेशमा प्रचण्डनिकट मुख्यमन्त्रीहरु रहेको साँढे तीन वर्ष बितिसकेको छ । दुवै प्रदेशमा माओवादीका मुख्यमन्त्रीहरुले नै पूरा कार्यकाल सरकार चलाउने निश्चितप्रायः बनेको छ । रोचक यो छ कि दुवै प्रदेशमा माओवादी पहिलो ठूलो दल होइन । तर, सरकार उसकै नेतृत्वमा चलिरहेको छ ।
लुम्बिनी प्रदेशमा एमाले सरकार ढालेर माओवादीका कुलप्रसाद केसी मुख्यमन्त्री बनेका छन् । एमालेको गढ मानिने लुम्बिनीमा माओवादी नेतृत्वको सरकार बनेको छ । लुम्बिनीमा तेस्रो ठूलो दल रहेर पनि माओवादीले सरकारको नेतृत्व लिएको छ ।
गण्डकी र प्रदेश नं २ मा पनि माओवादी गठबन्धन दलका रुपमा सरकारमा सहभागी छ । अब एमाले नेतृत्वको सरकार ढल्ने अवस्थामा रहेको बागमती र प्रदेश नं १ मा पनि माओवादी सरकारमा सहभागी हुने निश्चित छ ।
यसरी प्रचण्डको रणनीतिक चार्तुयताले माओवादी फेरि बलियो शक्ति बनेको छ । नेकपा एमालेसँग एकीकरण भई बनेको नेकपाको अध्यक्ष बन्दा प्रचण्ड यति बलियो थिएनन् जति अहिले छन् । नेकपामा हुँदा दुई प्रदेशमा उनीनिकटहरु मुख्यमन्त्री थिए । अहिले तीनजना भएका छन् ।
केन्द्र सरकारमा प्रचण्डको प्रभाव पहिले भन्दा बढी बनेको छ । प्रचण्ड नै सत्ता सञ्चालनको अघोषित संयन्त्रको प्रमुख जस्तै छन् ।
माओवादीबाट अग्निप्रसाद सापकोटा सभमुख छन् । त्यो प्रचण्डका लागि मुख्य हतियार बनेको छ । उनले यही अस्त्रबाट राजनीतिक लाभ लिइरहेका छन् । सभामुखले १४ सांसदमाथि एमालेले गरेको निष्काशनको सिफारिश नरोकेको भए एमाले फुट्ने थिएन । प्रचण्डले यसको जस लिन सके ।
सत्ता साझेदार दलको अध्यक्ष भएकाले भविष्यमा हुने राजनीतिक नियुक्तिमा पनि प्रचण्डको भूमिका देखिने निश्चित छ । संवैधानिक परिषदको नियुक्ति अदालतले बदर गरिदिएमा नयाँ प्रक्रियाबाट नियुक्ति हुन सक्छ । त्यतिबेला प्रचण्डले राम्रै हिस्सा पाउने आंकलन गर्न सकिन्छ । यसबाट पनि पुष्टि हुन्छ, प्रचण्ड जताततै प्रभावशाली हुनेतर्फ बढिरहेका छन् ।
१७ भाद्र २०७८, बिहीबार १८:०६ प्रकाशित