दार्चुला घटना बारे छानबिन समितिले गृहमन्त्रीलाई प्रतिवेदन बुझायो
  • काँचुली खबर

भारतीय सीमा सुरक्षा बल (एसएसबी)का जवानले तुइनको लठ्ठा चुँडाल्दा नेपाली नागरिक दार्चुलाका जयसिंह धामी महाकाली नदीमा बेपत्ता भएको घटनाका सन्दर्भमा छानबिन गर्न गठित समितिले प्रतिवेदन बुझाएको छ ।

मंगलबार साँझ समितिका संयोजक सहसचिव जनार्दन गौतमले गृहमन्त्री बालकृष्ण खाँणलाई प्रतिवेदन बुझाएका हुन् । १५ साउनमा तुइनबाट नदी तर्ने क्रममा व्यास गाउँपालिका-२ का ३३ वर्षीय धामी बेपत्ता भएका थिए । प्रत्यक्षदर्शीले भारतीय सुरक्षा बल (एसएसबी)ले तुइनको लठ्ठा चुँडाल्दा धामी महाकालीमा खसेर बेपत्ता भएका बताएका थिए ।

उक्त घटनाको छानबिन गर्न १७ साउनमा १० दिनको समय दिएर मन्त्रालयका सहसचिव गौतमको संयोजकत्वमा समिति गठन गरेको थियो । समितिमा नेपाल प्रहरीका सुदूरपश्चिम प्रमुख नायव महानिरीक्षक पुरुषोत्तम कँडेल, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक हुतराज थापा, सशस्त्र प्रहरीका वरिष्ठ उपरीक्षक सुरेशकुमार श्रेष्ठ र दार्चुलाकी सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट सदस्य थिए ।

तोकिएको समयमा समितिले प्रतिवेदन तयार गर्न अनुसन्धान नसकेको भन्दै २५ साउनमा एक साता म्याद थपिएको थियो । त्यसपछि भदौ २ र भदौ ९ गते एकरएक साताको समय थप गरिएको थियो । थपिएको समय (१७ भदौ) सकिन दुई दिनअघि समितिले प्रतिवेदन बुझाएको हो । समितिले घटनाको स्थलगत निरीक्षण गरी प्रतिवेदन तयार पारेको जनाएको छ ।

  • १५ भाद्र २०७८, मंगलवार १९:४७ प्रकाशित
  • Nabintech