‘पुर्वाधारले भरिपूर्ण बाँके राष्ट्रिय निकुञ्ज’
  • काँचुली खबर

देशकै कान्छो राष्ट्रिय निकुञ्ज बाँके राष्ट्रिय निकुञ्ज भित्र अवलोकन गर्ने पर्यटकहरुकालागि सम्पुर्ण पुर्वाधारहरु तयार भएको बताईएको छ । बाँके राष्ट्रिय निकुञ्जले आज नेपालगन्जको मेरो प्लानेटमा आयोजना गरेको सरोकारवालाहरु संगको अन्तरक्रियात्मक कार्यशाला गोष्ठीमा उक्त जानकारी गराईएको हो ।

कार्यक्रममा बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्याम कुमार शाहले निकुञ्जको परिचय, उद्देश्य, संरक्षणका प्रयास, उपलब्धि तथा आगामी कार्यदिशाका बारेमा प्रस्तुति दिएका थिए । उनले बाँके राष्ट्रिय निकुञ्जले धेरै नै सम्भावना बोकेको बताए । कर्णाली र लुम्बिनी दुईवटा प्रदेशको राजधानीको बिचमा अवस्थित, नजिकै नेपालगन्ज विमानस्थल, भारतसंगको खुल्ला सिमा इत्यादी भएको कारणले आन्तरिक तथा बाह्य पर्यटकहरुलाई निकुञ्जसम्म ल्याएर अवलोकन गराउन सकिने उनले बताए ।

प्रमुख संरक्षण अधिकृत शाहले बाँके राष्ट्रिय निकुञ्ज नेपालको १०० पर्यटकीय गन्तव्य स्थानमध्ये ५७औं स्थान र नेपालको जैविक बिबिधता बिधामा २५औं र एसियामा ११औं स्थानमा रहेको जानकारी दिए । उनले निकुञ्जको सुरक्षार्थ निकुञ्जको विभिन्न भागका १६ स्थानमा नेपाली सेनाको सुरक्षा पोष्ट रहेको बताए । निकुञ्जमा बिश्वमै दुर्लभ मानिने पाटेबाघ, चितुवा, चौका लगायतका विभिन्न प्रजातिका बन्यजन्तुहरु रहेको उनले जानकारी दिए । सन २०१३ मा ४ वटा पाटेबाघ रहेको यो निकुञ्जमा २०१८ को गणनामा यो संख्या बढेर २१ वटा पुगेको बताए । निकुञ्ज भित्र अवलोकन गर्नका लागि पर्यटकले हात्ती प्रयोग गर्न पनि सकिने उनले बताए । हात्ती सवार गरी अवलोकन गर्नेहरुका लागि दुई ठाउँबाट ६ वटा घरपालुवा हात्ती प्रयोग गरिएको पनि जानकारी दिए । निकुञ्ज भित्र पर्यटकहरुको अवलोकनका लागि आवश्यक पर्ने सम्पुर्ण पुर्वाधारहरु तैयार भैसकेको उनले जानकारी गराए । उनले निकुञ्जमा पर्यटक भित्र्याउनकालागि ब्रान्डिङ्ग, प्रचारप्रसार तथा प्रकृतिमा आधारित पर्यटन प्रवर्द्धन गर्न लागेको बताए ।

राष्ट्रिय प्रकृति संरक्षण कोष, बर्दिया संरक्षण कार्यालयका संरक्षण अधिकृत डा. रविन कडरियाले बाँके राष्ट्रिय निकुञ्जमा पर्यापर्यटनको सम्भावनाका बारेमा प्रस्तुति दिएका थिए । उनले बाँके राष्ट्रिय निकुञ्जमा पर्यटक भित्र्याउनका लागि थुप्रै सम्भावना रहेको औल्याए । राराताल, कैलाश मानसरोवर, खप्तड राष्ट्रिय निकुञ्ज तथा बुद्ध जन्मस्थल लुम्बिनी यहाँबाट नजिकै भएको तथा त्यहाँ जाने ट्रान्जिट प्वाइन्ट भएको हुँदा नेपालगन्जको नजिकै रहेको बाँके राष्ट्रिय निकुञ्जसम्म पर्यटकहरुलाई आकर्षण गर्ने गरी कार्यक्रम ल्याउनु पर्ने बताए ।

नेपाल पर्यटन बोर्डका सिईओ डा. धनन्जय रेग्मीले बार्षिक १२ लाख बाह्य पर्यटक हवाई मार्ग मार्फत र १४ लाख पर्यटक स्थलमार्ग मार्फत नेपालमा आउने गरेको तथ्यांक रहेको बताए । तराइका जिल्लाका विभिन्न सिमानाका हुँदै स्थलमार्ग मार्फत नेपाल आउने पर्यटक भारतीय रहेको उनले जानकारी दिए । नेपालमा बाह्य पर्यटकलाई भित्र्याउनका लागि रातीमा बन्द रहने भारतसँग जोडिएका सिमाहरु २४सै घण्टा खोलिनु पर्ने, नेपाली सुरक्षाकर्मीहरुको व्यवहारमा परिवर्तन हुनुपर्ने, रेष्टुरेन्ट तथा होटल व्यवसायी र त्यहाँका कर्मचारीको राम्रो व्यवहार हुनुपर्ने, क्यासिनोहरु संचालनमा ल्याई रात्रीकालिन व्यवसायलाई महत्व दिनुपर्ने उनले सुझाए ।

नेपाल पर्यटन व्यवसायी संघ (नाटा) का केन्द्रिय अध्यक्ष अच्युत गुरागाईले बाँके राष्ट्रिय निकुञ्जमा पर्यटन प्रवर्द्धन गर्नका लागि उत्पादनको बिकास गरिनुपर्ने, स्थानीयले वन्यजन्तु मैत्री व्यवहार गर्नुपर्ने, होटल तथा रेस्टुरेन्ट सर्भिसमा स्किल मेनपावरको तैयार गर्नुपर्ने तथा नजिकका विभिन्न धार्मिकस्थलसंग निकुञ्जको रुट प्रवर्द्धन गरी त्यहाँसम्म पर्यटकलाई जोड्नुपर्ने बताए ।

नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा. धवल समशेर राणाले नेपालमा स्थलमार्गमार्फत आउने सबै पर्यटक भारतीय भएको हुँदा उनिहरु प्रति आफुले हेर्ने दृष्टिकोण र चिन्तनमा फेरबदल हुनुपर्ने बताए । उनिहरुलाई पुलिस प्रशासनले गर्ने अपमानित व्यवहार सुधार्नु पर्ने, चेकजाँचका नाममा वोर्डरमा दिईने दुस्ख, धेरै ठाउँमा हुने चेकिङ हटाउनुपर्ने उनले बताए । उनले भारतबाट निजी गाडी लिएर नेपाल प्रवेश गर्ने पर्यटकहरुलाई रोकटोक नगरी सिधै आउन दिनुपर्ने बताए ।

कार्यक्रममा होटल व्यवसायी, मध्यवर्ती उपभोक्ता समिती, होमस्टे संचालक, पर्यटन व्यवसायी, जनप्रतिनिधि, पत्रकार, संरक्षण साझेदार संस्थाहरु लगायतका सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

बाँके राष्ट्रिय निकुञ्ज २०६७ साल असार २८ गते स्थापना भएको हो । निकुञ्जको क्षेत्रफल ३४३ बर्ग किलोमीटर रहेको छ । निकुञ्ज भित्र १३४७६ घरधुरी रहेको छ जसको जनसंख्या ७०५१७ रहेको छ । मध्यवर्ती क्षेत्र उपभोक्ता समूह ७७, मध्यवर्ती क्षेत्र उपभोक्ता समिती ९, मध्यवर्ती क्षेत्र व्यवस्थापन समिती १ रहेको छ । निकुञ्ज बाँके, दाङ र सल्यानसङ्ग जोडिएको छ ।

  • १२ भाद्र २०७८, शनिबार २३:०३ प्रकाशित
  • Nabintech