जनगायक जेबी टुहुरे (जुठबहादुर खड्गी) को निधन भएको छ । टुहुरेको ७८ वर्षको उमेरमा बयोधा अस्पतालमा उपचारका क्रममा बिहीबार निधन भएको हो ।
मंगलबार कलंकीस्थित घरमा एक्कासी लडेपछि बयोधा अस्पताल लगिएको थियो । उनलाई मुटु, फोक्सो, मधुमेह र उच्च रक्तचापका दीर्घरोग समेत थियो ।
वि.सं. २०२४ सालदेखि सांगीतिक क्षेत्रमा लागेका टुहुरेले १ सय ५० भन्दा बढी गीत गाएका छन् । ‘आमा दिदीबहिनी हो, कति बस्छौ दासी भई, सुखको सधैँ प्यासी बनेर’ बोलको चर्चित जनवादी गीत उनको सबैभन्दा प्रख्यात गीत हो । जुन गीत उनले वि.सं. २०३४ सालदेखि गाउँदै आएका थिए ।
टुहुरेले गाएको अर्को चर्चित गीत ‘बसाइँ हिँड्नेको ताँतीले बस्नेको मन रुँदो छ, लाखौंको लागि उजाड छ यो देश मुठ्ठीभरलाई त स्वर्ग छ’ पनि मानिसहरुको जिब्रोमा झुण्डिएको छ ।
टुहुरे सुनसरीको धरान निवासी हुन् । उनलाई घरमा जुठबहादुर खड्गीमा रुपमा बोलाइन्थ्यो । टुहुरेलाई एकीकृत माओवादीले दोस्रो संविधानसभामा समानुपातिक सभासद पनि बनाएको थियो ।
जनसांस्कृतिक महासंघका निवर्तमान अध्यक्ष सरल सहयात्रीका अनुसार संविधानसभा सदस्य समेत रहेका टुहुरेको पार्थिव शरीर अन्तिम श्रद्धान्जलीका लागि दिउँसो साढे १ बजेदेखि २ बजेस्म्म पार्टी कार्यालय पेरिसडाँडामा राखिने छ । उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने बताइएको छ ।
१० भाद्र २०७८, बिहीबार १३:१७ प्रकाशित