नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङविरुद्धको मुद्दा आज सुनुवाइ हुँदै छ । प्राधिकरणका पूर्वकार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले सर्वोच्च अदालतमा दायर गरेको रिटको सुनुवाइ आज हुन लागेको हो ।
शाक्यले साउन ३२ गते वारेसमार्फत नियुक्तिको निर्णय बदर हुनुपर्ने मागसहित अन्तरिम आदेश माग गर्दै रिट दायर गरेका थिए ।
सरकारले शाक्यको स्थानमा कुलमानलाई नियुक्ति गर्नु गैरकानुनी भएको उनको जिकिर छ । शाक्यको रिट निवेदनमा आफ्नो सहमति बिना विद्युत् प्राधिकरणबाहिर स्थानान्तरण गर्न नमिल्ने भन्दै उनले राजीनामा पनि नदिएको र कुनै स्पष्टीकरणसमेत नसोधिएको अवस्थामा आफू विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमै कायम रहेको जिकिर गरेका छन् ।
शाक्यले आफ्नो नियुक्ति ४ वर्षका लागि भएको भन्दै सरकारले बीचमै हटाउन नसक्ने र आफूलाई अन्यत्र पद सिर्जना गरी नियुक्त गर्न नमिल्ने जिकिर रिटमा गरेका छन् ।
साउन २४ गतेको मन्त्रिपरिषद् बैठकले कुलमानलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको थियो । साउन २७ मा नियुक्तिपत्र बुझेलगत्तै कुलमानले सोही दिन पदवहाली गरेका थिए ।
८ भाद्र २०७८, मंगलवार १२:०१ प्रकाशित