रुकुम-पश्चिमको आठबिसकोट नगरपालिका-९ बटला (सुन्दरपानी) की २८ वर्षीया धर्माकुमारी बटाला बिहीबार बेलुका साढे ५ बजे ३२ महिनाको छोरा किरण बटलासहित राडी भन्ने ठाउँबाट ना ३ ख ३७८८ नम्बरको नाइट बस चढिन् ।
बस चढेपछि धर्माकुमारीले त्यसको जानकारी श्रीमानलाई दिइन् ।
बाँकेको नेपालगञ्जमा रहेका श्रीमान दलबहादुर बटालासँग सल्लाह गरि उपचारका लागि भनेर धर्माकुमारी नाबालक छोराको साथ बस चढेकी थिइन् ।
साउन ४ गतेदेखि नेपालगञ्जमा बस्दै आएका दलबहादुर बिल्डिङ सम्बन्धी ठेक्कापट्टाको काम गर्छन् ।
‘घरमा आमा छोरा मात्रै बस्थे । उपचार गर्न नेपालगञ्ज जाने भनेर धर्माकुमारीले घर धन्दाको काम बिहीबार दिउँसो सबेरै सकिन् । आफू फर्केर नआउँदासम्म घर रेखदेख गरिदिने आफन्त र छरछिमेकलाई मिलाइन्’, दलबहादुरले भने, ‘भिडियो एक्सरे गर्दा पनि मेरो नर्मल अवस्था देखाएको छ, भन्ने गर्थिन् ।’
श्रीमान दलबहादुरका अनुसार धर्माकुमारीले जिल्लाकै अस्पताल र मेडिकलमा उपचार गराएकी थिइन् । केही दिन पहिले मात्रै सल्लेका मेडिकल पुगेर उपचार गराएकी थिइन् । उनीहरुकै सल्लाहमा औषधि सेवन गरिरहेकी थिइन् । तर, विशेक भएन । त्यसैले श्रीमान दलबहादुरले थप उपचारका लागि नेपालगञ्ज बोलाए । दलबहादुरका अनुसार धर्माकुमारी मुटुको बिरामी थिइन् । प्रेसर हाइ र लो हुने समस्या पनि थियो ।
त्यसअगाडि उनले उपचारका लागि झन्डै चार लाख खर्चिएका थिए ।
‘उनको माइती डडेलधुराबाट पनि उपचारमा सहयोग भएको हो र मैले पनि श्रीमतीको उपचार गर्दै आएको थिएँ,’ दलबहादुरले भने ।
श्रीमती धर्माकुमारी र नाबालक छोरा बसमा चढेपछि दलबहादुर निरन्तर सम्पर्कमा थिए । बस छेडा भन्ने ठाउँमा आएपछि खाना खाए । ‘मैले श्रीमतीसँग आधा घन्टा जति फोन गरेँ,’ दलबहादुरले भने, ‘उनले आफू सामान्य अवस्थामा रहेको र आरामले यात्रा गरिरहेको हुँदा चिन्ता नगर्न भनिन् ।’
धारापानी भन्ने ठाउँमा दलबहादुरले फेरि श्रीमती धर्माकुमारीलाई फोन गरे । त्यतिबेला पनि धर्माकुमारीले श्रीमान दलबहादुरलाई आफ्नो अवस्था सामान्य रहेको र आरामले यात्रा गरिरहेको तथा बसमा अरुपनि मानिसहरु रहेको हुँदा चिन्ता नगर्न आग्रह गरिन् । त्यसपछि फोन सम्पर्क हुन सकेन । रात छिप्पीसकेको हुँदा दलबहादुर पनि श्रीमतीलाई शुक्रबार बिहान नेपालगञ्जमा भेट्ने मिठो कल्पनाका साथ सुते ।
राडीहुँदै जाजरकोट, सुर्खेत, बर्दियाको बाटो भएर कोहलपुर पुग्न सकिन्छ । बेलुका साढे ५ बजे हिँडेको गाडी अर्कौ दिन बिहान साढे ५(६ बजेतिर मात्रै कोहलपुर पुग्न सक्छ । दुरी झन्डै पौने तीन सय किलोमिटर रहेपनि सबै पहाडी भूभाग पर्ने हुँदा यात्रा कठिन र ढिलो हुन पुग्छ ।
धर्माकुमारी चढेको बसमा उनकै सिटको अर्को सिटमा २७ वर्षीय अर्जुन केसी पनि यात्रारत थिए । धर्माकुमारी छोरासँगै बसेकी थिइन् ।
वान्ता हुन थालेपछि धर्माकुमारीले केसीसँग पोलेथिनको झोला मागिन् । त्यसपछि उनले आफूलाई अगाडिको सिटमा बस्ने प्रबन्ध मिलाई दिन केसीलाई आग्रह गरिन् । केसीले आफू बसेको झ्याल नजिकको २ नम्बर सिट धर्माकुमारीका लागि छोडिदिए । सिटमा आमा छोरा एक्लै बसे । केसी १ नम्बर सिटमा एक्लै बसे ।
बोटेचौर भन्ने ठाउँमा आइपुगेपछि धर्माकुमारीले दुईरतीन पटक वान्ता गरिन् । तर, उनी त्यसपछि सामान्य अवस्थामा सिटमा बसिन् ।
मध्यरात भइसकेको थियो । बस आफ्नै गतिमा अगाडि बढिरहेको थियो । सबै यात्रु निदाए जस्तै वातारण थियो । बर्दियाको हरिया लेक आइपुग्दा एकाएक ३२ महिनाका किरण बटला रोएको आवाज केसीले सुने ।
‘यसो फर्केर मैले हेर्दा बच्चा सिटदेखि तल खसेको मैले देखे,’ केसीले भने, ‘त्यसपछि म लगाएत अरूले धर्माकुमारीलाई उठाउन खोज्यौं, तर उहाँ हलचल गर्नुभएन ।’
धर्माकुमारी बसको सिटमै कहिलै नउठ्ने गरि चीर निन्द्रामा सुतिसकेकी थिइन् । उनको अवस्थाले बसमा यात्रारत सबै दुःखी र निराश बने । कतिले नजिकै बबईमा उपचारका लागि मेडिकलमा तत्काल लैजान सल्लाह गरे । तर, त्यहाँ पनि मेडिकल बन्द भइसक्ने हुँदा बरू छिटो कोहलपुर पुर्याउने सबैले सल्लाह गरे । धर्माकुमारीकी गाउँकै अर्की एक महिला पनि बसमा सवार थिइन् । उनैले धर्माकुमारीको मृत शरीर सिटमै बसेको अवस्थामा समातेर यात्रा गरिन् ।
बच्चा रोइरहेको हुँदा केसीलगाएत बसमा यात्रारत अरू यात्रुहरुले पालैपालो समाते ।
शुक्रबार बिहान श्रीमतीलाई सकुशल नेपालगञ्जमा स्वागत गर्ने प्रतिक्षमा बसेका दलबहादुर एकाबिहानै श्रीमतीलाई सदाको लागि गुमाउनु परेको खबर सुन्दा छाँगाबाट खसेझैं भए ।
उनी पौने ६ बजेतिर गाडी लगेर बस आउने ठाउँ कोहलपुरको दश बिगाहा पुगे ।
छोरा बुवा देखेर अलि शान्त बन्यो । रोइरहेको छोरालाई चुम्बन गर्दै त्यहाँ आफन्तको जिम्मा लगाएर उनले अस्थित भइसकेकी श्रीमती धर्माकुमारीलाई तत्कालै त्यही नर्सिङ स्टाफ बोलाएर चेकजाँच गर्न लगाए । ‘अब उहाँको सम्भावाना छैन,’ भन्ने वाक्यले उनका आँशु झरे । तुरुन्तै उनले गाडी दौडाउन लगाएर नेपालगञ्जस्थित भेरी अस्पतालमा पुर्याए । तर चिकित्सकहरुले उनको मृत्यु भईसकेको घोषणा गरे । सेतोपाटीबाट
५ भाद्र २०७८, शनिबार १४:२० प्रकाशित