नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्ज (नेप्से) का पदाधिकारीलाई पदीय आचरणविपरित सेयर कारोबार गरेको निष्कर्ष निकाल्दै तत्काल कारबाहीको प्रक्रिया अघि बढाउन संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ । शुक्रबार अर्थ समितिको बैठकले नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगाना र नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले पदीय आचरण विपरित सेयर कारोबार गरेको निष्कर्ष निकाल्दै तत्काल कारबाही प्रक्रिया अघि बढाउन अर्थ मन्त्रालयलाई निर्देशन दिएको हो ।
सर्वोत्तम सिमेन्टको सेयर बोर्डका अध्यक्ष ढुंगाना र नेप्सेका प्रमुख कार्यकारी अधिकृत साउँदले परिवारका सदस्यको नाममा खरिद गरेर पदीय आचारण विपरित काम गरेको भन्दै चर्को आलोचना भइरहेका बेला समितिले तत्काल छानविन गरी आवश्यक कारबाही प्रक्रियाअघि बढाउन सरकारलाई सचेत गराएको हो ।
नियमक निकाय आफैले पदीय मर्यादाविपरित सेयर कारोबार गरेकाले तत्काल छानवीन गरी उनीहरुमाथि कारबाहीको प्रक्रिया अघि बढाउन सरकारलाई निर्देशन दिइएको समितिका सभापति कृष्णप्रसाद दाहालले जानकारी दिए । उनले भने, ‘नेपाल धितोपत्र बोर्ड र नेप्सेका पदाधिकारीहरुले भित्री सूचनाका आधारमा गरेको भनिएको सेयर कारोबारको सम्बन्धमा अर्थ मन्त्रालयबाट अध्ययन छानवीन भइरहेको जानकारी माननीय मन्त्रीज्यू र अर्थसचिवज्यूबाट प्राप्त भएको छ । उक्त छानवीन यथाशीघ्र सम्पन्न गरी आवश्यक कारबाही अघि बढाउन र त्यसको जानकारी समितिलाई गराउन अर्थ मन्त्रालयलाई निर्देशन दिने निर्णय समितिले गरेको छ ।’
४ भाद्र २०७८, शुक्रबार १५:२३ प्रकाशित