एमाले विभाजन : बाँकेमा को कतातिर ?
  • काँचुली खबर

नेपालको सबैभन्दा ठुलो कम्युनिष्ट दल दावी गर्दै आएको नेकपा एमाले दुई टुक्रा भएको छ । लामो समय नेकपा एमालेको नेतृत्वमा रहेका माधव कुमार नेपाल एमालेबाट अलग भएर नयाँ पार्टी नेकपा एमाले (समाजवादी) को अध्यक्ष भएका छन । केन्द्रमा आधिकारीक रुपमै एमाले पार्टी फुटेपछि त्यसको असर जिल्लास्तरसम्म देखिन थालेको छ ।

एमालेबाट छुट्टिएर नयाँ दल दर्ता गरेका माधवकुमार नेपाल समूहमा एमाले बाँकेबाट प्रतिनिधित्व गर्ने तीन जना केन्द्रिय सदस्य गएका छन् । साविक एमालेको महाधिवेशनबाट निर्वाचित भएकी केन्द्रिय सदस्य गौरा प्रसाई (कोईराला) सहित दलबहादुर सुनार र गोविन्द कोईराला एमाले (समाजवादी) तिर गएका हुन् ।

साविक एमालेमा बाँकेबाट पाँच जना केन्द्रिय सदस्यले प्रतिनिधित्व गर्दै आएका थिए । त्यस मध्ये मो। हारुन हल्वाई मात्र केपी ओली नेतृत्वको नेकपा एमालेमा छन् । अर्का एक जना केन्द्रिय सदस्य दिनेशचन्द्र यादवको कोरोना संक्रमणबाट मृत्यु भईसकेको छ । बाँकेबाट प्रतिनिधित्व गर्दै नेतृ प्रसाई नेकपा एमालेको विभिन्न जिम्मेवारीमा थिईन् । यस्तै पुर्व सिचाइँ राज्यमन्त्री तथा पुर्वसांसद सुनार र कोईराला केन्द्रिय सदस्य तथा केन्द्रिय सल्लाहकार कमिटी सदस्यको जिम्मेवारीमा थिए । केपी ओली पार्टीको नेतृत्वमा आएपछि आफुहरुलाई पार्टीभित्र काम गर्न नदिइएको र हरेक अवसरबाट बञ्चित गरेको उनीहरुको गुनासो थियो । ओलीको कार्यशैलीप्रति असन्तुष्टी जनाउँदै आएका उनीहरु नेपाल समुहका गतिविधीमा विगतदेखी नै सहभागी हुदै आएका थिए ।

नेकपा एमालेको सातौं जिल्ला अधिवेशनबाट निर्वाचित भएका अध्यक्ष अशोक कोईराला पनि नेपाल समुहमा गएका छन् । सोही अधिवेशनबाट निर्वाचित भएका उपाध्यक्ष निरक गुरुङ र सचिव रत्न खत्री तथा नेपालगन्ज उपमहानगरपालिकाका प्रवक्ता एवं वडाअध्यक्ष प्रमोद रिजाल विगतमा नेपाल समुहमा रहेपनि पार्टी विभाजनपछि कतै खुलेका छैनन् । बाँकेबाट निर्वाचित भएका प्रतिनिधि सभा र प्रदेश सभाका ३ जना सांसद भने ओली समुहमा छन् । एमालेले बाँकेका तीन वटा प्रतिनिधी सभा क्षेत्र मध्ये एउटा मात्र क्षेत्रमा सांसद जितेको थियो ।

क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सांसद नन्दलाल रोकाय ओली समुहमा छन् । यस्तै प्रदेश सभामा नेकपा एमालेले दुई वटा सिट जितेको थियो । प्रदेश सभा १ (ख) का सांसद आरती पौडेल र प्रदेश सभा ३ (ख) का बाबुराम गौतम पनि ओली समुहमै बसेका छन् । नेपालगन्जका पुर्वउपमेयर, प्रतिनिधि सभा र मेयरका उम्मेदवार भईसकेका एमाले नेता समसुद्धिन सिद्धिकी, युवा संघका केन्द्रिय सचिव दिपक जि।एम, जिल्ला अध्यक्ष किशोर थापा, पार्टीका सचिवालय सदस्य अब्दुल हुसेन खाँ, एमाले अनुसाशन आयोगका जिल्ला अध्यक्ष लालबहादुर खत्री लगायत नेताहरु एमाले ९समाजवादी० तिर गएका छन् ।

एमाले (समाजवादी) का जिल्ला अध्यक्ष अशोक कोईरालाले बाँकेमा माधव समुह धेरै बलियो रहेको दाबी गरे । पार्टीको सातौं अधिवेशनबाट निर्वाचित जिल्ला कमिटी ७५ सदस्यीय रहेकोमा केहीले पार्टी छाडिसकेको, केहीको मृत्यु भएको र त्यसमध्ये ३५ जना बहुमत सदस्य आफुहरुसँग रहेको दाबी गरे । यस्तै १७ सदस्यीय सचिवालयमा १० जना आफुहरुसँग रहेको कोईरालाको भनाई छ ।

यद्यपी नेकपा एमाले (ओली समुह) का जिल्ला अध्यक्ष सुर्य ढकालले बाँकेमा फुटको प्रभाव खासै नपरेको दावी गरे । साविक जिल्ला कमिटीमा १६ जना मात्र माधव समुहमा गएको अध्यक्ष ढकालले जिकिर गरे । जिल्लाका ८१ वटा वडा कमिटी मध्ये ७१ आफुतिर र १० वटा मात्र माधव समुहमा रहेको उनको दाबी छ । यस्तै १९ जनवर्गिय संगठन मध्ये ३ वटा मात्र माधव समुहतिर गएको बताए । लुम्बिनी प्रदेश कमिटीमा रहेका ७ मध्ये माधवतिर १ जना, जिल्लाका ३१ जना जनप्रतिनिधी मध्ये २९ जना ओली समुहमा रहेको दाबी गरे । नागरीकन्यूजबाट

  • ३ भाद्र २०७८, बिहीबार १५:४२ प्रकाशित
  • Nabintech